
विराटनगर । मोरङको जहदा गाउँपालिकाले करार तथा ज्यालादारी कर्मचारीको सम्झौता नवीकरण नगर्ने भएको छ ।
गाउँपालिकामा करार दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरिएको हो । पालिकामा करार दरबन्दी र करार तथा ज्यालादारी ६६ कार्यरत जना कर्मचारीमध्ये २० जान कर्मचारीहरूको सम्झौता कात्तिक १६ गतेदेखि रद्द गरिएको गाउँपालिकाले जनाएको छ ।
जेनजी आन्दोलनपछि नेपाल सरकारले गरेको निर्णय अनुसार गाउँ कार्यपालिकाको कात्तिक २ गतेको निर्णयबाट उनीहरूको सम्झौता रद्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रोशनकुमार गुप्ताले जानकारी दिए ।
जहदा गाउँपालिका कार्यालयको स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण ओ एन्ड मी दरबन्दीभित्र नरहेका करार तथा ज्यालादारी कर्मचारीको करार सम्झौता रद्द गर्ने निर्णय भएको उनले बताए ।
पालिकाले करार तथा ज्यालादारी कर्मचारीहरूको करार सम्झौता रद्द गरिएको सूचना जारी गरी सकेको छ ।
पालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ६ बमोजिम स्थानीय तहले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओ एन्ड मी स्वीकृत गरी कार्यान्वयनमा रहेको थियो ।
तर, नेपाल सरकारको स्वीकृत कार्यक्रम अनुसार नेपाल सरकारबाटै सर्त अनुदानमा बजेट प्राप्त भई कार्यक्रम निरन्तर रहेको कार्यक्रमअन्तर्गत नियुक्ति भएका ४६ जना करार दरबन्दीका कर्मचारीहरू यथावत् नै रहेको गुप्ताले बताए ।























