उपमहानगर प्रमुखलाई ‘बलात्कारको धम्की’

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १८, मंगलबार १४:१७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत बलात्कारको धम्की आएको खुलासा गरेकी छन् ।

उपमहानगर प्रमुख लामाले हरेक नगरले पहिलो प्राथमिकता आफ्ना नगरवासीलाई दिनुपर्ने धारणा राखेकी थिइन् । उक्त अभिव्यक्तिपछि उनलाई ‘मधेस विरोधी’ भन्दै धम्की दिन थालिएको लामाको भनाइ छ ।

उनका अनुसार फेसबुक, ह्वाट्सएप र फोनमार्फत ‘बलात्कार गर्नेसम्म’ धम्की आएका थिए । धम्कीपछि तत्कालका लागि आफू नै गलत भइदिन्छु भनेर दुई पटक माफी समेत मागेको तर धम्की आउन नछाडेको उनको भनाइ छ ।

आफू नजिक भएर जायज, नाजायज फाइदा लिन खोज्दा नसकेकाहरूले पर्दा पछाडि बसेर धम्की दिएको लामाले बताएकी छन् । त्यस्तो समूहले कलिला किशोरकिशोरी लाई समेत प्रयोग गरेको देख्दा नेपाली तथाकथित सचेत पुरुषको कुरुप अनुहार छर्लङ्ग देखेको उनले बताइन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले समेत खुलेआम बलात्कारको धम्की सहनुपर्ने समाजमा सामान्य महिलाको सुरक्षाको अवस्था कस्तो होला भन्ने प्रश्न उनले उठाएकी छन् ।

उपमहानगर प्रमुख लामाले हेटौंडालाई महिलामैत्री सहर बनाउन काम भइरहेको बताइन् । कात्तिक १८ गते उपमहानगरपालिकाले संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युएनओपीएस) सँग महिलामैत्री सहर घोषणा गर्नका लागि एक सम्झौता गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.