सांकेतिक तस्बिरविराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिका–६, कत्लेस्थित कच्ची सडक किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृतकको पहिचान उर्लाबारी नगरपालिका–१ का अन्दाजी ४२ वर्षीय मनकुमार तामाङको रूपमा भएको प्रहरीले जनाएको छ । उनी अत्यधिक मादक पदार्थ सेवन (मापसे) गर्ने गरेको स्थानीयले बताएका छन् ।
तामाङ सडकछेउमा उत्तानो परेर लडिरहेको स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय मधुमल्लालाई खबर गरेका थिए ।
प्रहरी नायब निरीक्षक भीमबहादुर भुजेलको कमान्डमा घटनास्थलमा टोली खटिएको छ ।
घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउनका लागि इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी निरीक्षक भीम राई र उर्लाबारीबाट प्रहरी नायब निरीक्षक चुडामणि पौडेलको कमान्डमा टोली परिचालन गरिएको छ ।























