
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा २ जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोडको घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाल छन् । निशा राई इलामको माई नगरपालिका–८ घर भई बूढानीलकण्ठ नगरपालिका–१०, गैरीगाउँमा बस्दै आएकी थिइन् ।
आयुषा कुमाल गुल्मीको हस्तिचौर गाउँपालिका–२ की हुन् । उनीहरू दुवैलाई बूढानीलकण्ठ–१०, गैरीगाउँबाट पक्राउ गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ । पक्राउ परेका दुवै युवतीलाई हाल प्रहरी वृत्त बौद्ध मा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

























