
काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज (बिहीबार) पेसी तोकिएको छ ।
तुल्सीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलास नम्बर १ मा यो मुद्दा ३ नम्बर पेसीका रूपमा चढेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो ।
त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै मुद्दा एकै प्रकृतिका भएकाले जोशीसमेतको फाइल एकैसाथ राख्न आदेश गरेको थियो । लामछानेले बिगोबमोजिमको रकम बुझाई थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका थिए । उच्च अदालतले उनलाई सो मागसहित जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो ।
यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो । सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
यसअघि उनले जिल्ला अदालतमा पनि बिगो दाखिला गरेर मुद्दाबाट छुटकारा दिन माग गर्दै निवेदन दिएका थिए। तर, जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

























