‘भ्रष्ट शक्तिलाई निर्वाचनबाटै परास्त गरौँ’

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २०, बिहीबार १२:३९

काठमाडौँ । पुराना र परम्परागत राजनीतिक दलहरूलाई आगामी निर्वाचनबाटै परास्त गर्ने लक्ष्यसहित नयाँ तथा वैकल्पिक शक्तिहरूले छलफल थालेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा आज (बिहीबार) बिहान नयाँ बानेश्वरमा वैकल्पिक शक्तिहरूको प्रारम्भिक बैठक सम्पन्न भयो ।

छलफलमा नेसपा नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा र उज्यालो नेपाल अभियानका नेताहरूको सहभागिता थियो ।

छलफलमा सहभागी नेता सुदन किरातीले दिएको जानकारीअनुसार डा. भट्टराईले ‘जेनजी विद्रोह’ सामान्यीकरण हुँदै गर्दा पुराना भ्रष्ट नेताहरूले फेरि टाउको उठाउने प्रयास गरेको भन्दै चिन्ता व्यक्त गरे। उनले भ्रष्ट शक्तिहरूलाई निर्वाचनबाटै पराजित गर्न सम्पूर्ण नयाँ र वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने प्रस्ताव राखे ।

किरातीले भने, ‘बाबुराम भट्टराईको अग्रसरतामा पुराना भ्रष्ट शक्तिहरूलाई कसरी परास्त गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भयो। जेनजी विद्रोहपछि पुराना भ्रष्ट शक्तिहरू रूपान्तरित हुनुभन्दा अझै हुँकार गर्न थालेका छन् ।’

डा. भट्टराईले जनतामा बढ्दै गएको निराशालाई समयमै सम्बोधन गर्न नसकिए देशमा झन् ठूलो खतरा उत्पन्न हुन सक्नेतर्फ नेताहरूलाई सचेत गराएका थिए । उनले झिना मसिना व्यक्तिगत स्वार्थहरू त्यागेर सम्पूर्ण नयाँ शक्ति एक ठाउँमा आएर निर्वाचनमा जानुपर्नेमा जोड दिँदै भने, ‘जनतामा देखिएको व्याप्त निराशालाई अन्त्य गर्न नसकिए देश झन् ठूलो खतरामा पर्नसक्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.