मलेसिया र खाडीका श्रमिक समस्या समाधानको लागि ‘एकीकृत घोषणा’

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २१, शुक्रबार ०७:१८

काठमाडौँ । विदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकहरूको हकहित सुनिश्चित गर्न अब कागजमा मात्र होइन, ‘जमिनमा’ काम हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहल तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को सहकार्यमा आयोजित एउटा बृहत् बैठकले खाडी मुलुक र मलेसियामा रहेका नेपाली श्रमिकहरूका समस्या समाधान गर्नका लागि सरकार, गैरसरकारी संस्था र सरोकारवाला निकायहरूबीच बलियो सहकार्यको वाचा गरेको छ ।

समस्याको ‘पोको’ फुकाइयो, समाधानको बाटो खोजियो एनआरएनएको बालुवाटारस्थित सचिवालयमा सम्पन्न ‘आप्रवासी अधिकार र मर्यादित काम चरण–२’ अन्तर्गतको यो बैठक कुनै सामान्य जमघट थिएन। नेपाल सरकारका विभिन्न मन्त्रालय, श्रमसँग सम्बन्धित निकाय, श्रमिक सङ्गठन, नीति अनुसन्धानकर्ता लगायत ३० भन्दा बढी संस्थाका प्रतिनिधिहरू एउटै टेबलमा भेला भएर समस्याहरूको ‘पोको’ फुकाएका थिए।

बैठकमा सहभागीहरूले आफ्ना नागरिकहरूले विदेशमा भोग्नुपरेका मुख्य चुनौतीहरू द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनमा लापरवाही, तलब र सुविधा नपाउने जस्ता आर्थिक शोषण, स्वास्थ्य र सुरक्षा माथि आइपर्ने खतरा, नेपालको सामाजिक सुरक्षा कोष मा जोड्ने जटिलता, श्रमिक संरक्षण संयन्त्रमा भएका कमजोरीहरू बारे खुलस्त छलफल गरे।

अबको जोड: सहकार्य र सम्मानजनक रोजगारी सबै सरोकारवालाहरूले एकै स्वरमा ‘सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारी’ को वातावरण सृजना गर्नका लागि सरकारी निकाय, एनआरएनए र अन्य सङ्घ-संस्थाहरूबीचको समन्वयलाई हदैसम्म सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। अब कुनै पनि निकाय एक्लै हिँड्ने छैनन्, बरु संयुक्त मोर्चा बनाएर अगाडि बढ्ने प्रतिबद्धता गरिएको छ।

बैठकले आगामी दिनमा वैदेशिक रोजगारीसम्बन्धी नीतिहरूमा सुधार ल्याउन, श्रमिकहरूको क्षमता अभिवृद्धि गर्न र उनीहरूको हकहित संरक्षण गर्नका लागि संयुक्त कार्ययोजना तयार पार्ने महत्त्वपूर्ण वाचा गरेको छ।

डा. केसीको सरकारलाई झक्झकाइ सोही क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी ले सरकारको ध्यानाकर्षण गराउँदै एउटा फरक र महत्त्वपूर्ण सन्देश दिए। उनले संविधानले किटान गरेका विदेशमा रहेका नेपालीले पाउनुपर्ने सेवा र सुविधा प्रदान गर्न सरकारले अब ढिलासुस्ती गर्न नहुने र यसका लागि सरोकारवालाहरूले पनि सरकारलाई बारम्बार ‘झक्झकाइरहनुपर्ने’ बताए।

यस बैठकले नेपाली श्रमिकहरूको हकहितका लागि सरकारी र गैरसरकारी प्रयासहरूलाई एकताबद्ध गरी नयाँ दिशा दिने विश्वास गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.