
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि सरकारले व्यापक तयारी सुरु गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्तावसहित प्रारम्भिक खाका तयार पारेको छ ।
प्रहरी प्रधान कार्यालयको प्रारम्भिक खाका अनुसार यदि यो सङ्ख्यामा म्यादी प्रहरी भर्ना भएमा उनीहरूको तालिम, पारिश्रमिक, भत्ता, पोसाकलगायतका शीर्षकमा ४ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले गत आमनिर्वाचन २०७९ को सुरक्षा व्यवस्थापनलाई आधार मानेर आसन्न निर्वाचनका लागि सुरक्षा रणनीति बनाएको छ । नेपाली सेनाका सहायक रथीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू सम्मिलित एक एकीकृत कार्यदल गठन भइसकेको छ।
गृह मन्त्रालयले पनि सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा छुट्टै निर्वाचन सुरक्षासम्बन्धी कार्यदल बनाएको छ । सेनाको नेतृत्वमा रहेको समितिबाट तयार भएको सुरक्षा खाकालाई गृह मन्त्रालयको कार्यदलले थप अध्ययन गरी अन्तिम रूप दिनेछ र त्यसपछि केन्द्रीय सुरक्षा समितिमा पेस गरिनेछ। अन्त्यमा, निर्वाचन आयोगसँगको समन्वयमा चुनावी सुरक्षा योजनालाई अन्तिम रूप दिने तयारी छ ।
हाल सेनामा करिब १ लाख, नेपाल प्रहरीमा ८० हजार र सशस्त्र प्रहरीमा ३७ हजार सुरक्षाकर्मी कार्यरत छन्। विगतको अभ्यासलाई हेर्दा, यी तीनवटै सुरक्षा निकायबाट ८० प्रतिशतभन्दा बढी जनशक्ति निर्वाचन सुरक्षामा खटिने गरेका छन्। यसबाट अपुग हुने जनशक्ति म्यादी प्रहरी भर्ना गरेर पूर्ति गरिनेछ ।

























