
विराटनगर । गत असोज १७ र १८ गतेको अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण इलाममा भएको क्षतिको विस्तृत तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार इलाममा कुल ११ अर्ब ८१ करोड ८९ लाख ८५ हजार ७ सय ३ रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्लाका विषयगत कार्यालयहरू र स्थानीय तहबाट प्राप्त तथ्याङ्कलाई एकीकृत गरी यो तथ्य सार्वजनिक गरिएको हो ।
पूर्वाधारमा सर्वाधिक क्षति
बाढीपहिरोबाट सबैभन्दा ठूलो क्षति भौतिक पूर्वाधार तथा सडक संरचनामा पुगेको छ । डिभिजन सडक कार्यालय इलामको तथ्याङ्कअनुसार बाढीपहिरोका कारण ७३ वटा सडक, २५ वटा पुल र ६ वटा भवन पूर्ण वा आंशिक रूपमा भत्किएका छन् ।
संघीय सरकार मातहत पर्ने ११ वटा सडकमा पहिरो जाँदा मात्रै ६ अर्ब ९६ करोड ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी, प्रदेश सरकारअन्तर्गतका अन्य ६२ वटा सडकमा क्षति हुँदा २ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ को क्षति थपिएको छ ।
यसबाहेक, पूर्वाधार विकास कार्यालयअन्तर्गतका २५ वटा पुल भत्किँदा ८५ करोड र ६ वटा भवन भत्किँदा ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
कृषि, सिँचाइ र जनजीवनमा असर
भौतिक पूर्वाधारसँगै जनजीवनसँग जोडिएका क्षेत्रहरूमा पनि ठूलो क्षति पुगेको छ । सिँचाइमा ९५ करोड र खानेपानीका संरचनामा २८ करोड ३० लाख रुपैयाँको क्षति भएको छ ।
पशु चौपाया तथा गोठमा ४ करोड ३३ लाख ३० हजार रुपैयाँ र विद्युत् प्राधिकरणका संरचनामा १ करोड ७६ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । कृषि, चिया तथा नेपाल टेलिकमका संरचनाहरूमा समेत ठूलो क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले विपद्बाट क्षतिग्रस्त संरचनाहरूको पुनः निर्माण र मर्मतका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरी संघीय र प्रदेश सरकारसमक्ष बजेट माग गरिएको जानकारी दिइन् ।
असोज १७ र १८ को विपद्पछि संघीय सरकारले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
यसअघि, इलाममा पटकपटक पहिरोको जोखिम उच्च रहँदै आएको छ । विशेषगरी बर्खायाममा यहाँका पहाडी भूभागमा पहिरोका घटना दोहोरिने गरेका छन्, जसले भौतिक संरचनामा मात्र नभई जनधनको क्षति पनि गराउँदै आएको छ। यसपटकको क्षतिले इलाममा भूसंरक्षण र पहिरो प्रतिरोधात्मक पूर्वाधार निर्माणको आवश्यकतालाई झनै टड्कारो बनाएको छ ।

























