
इलाम । प्राकृतिक विपद्का कारण संकटमा परेका चिया किसानहरूलाई इलामका एक अर्गानिक चिया अभियन्ताले ठूलो राहतको घोषणा गरेका छन् ।
सूर्योदय नगरपालिका–९, सुन्दरपानीस्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले पहिरोबाट घर, गोठ र चियाबारीमा क्षति पुगेका १९ जना किसानलाई पुनर्निर्माणका लागि २५ लाख रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।
गत असोज १८ गते आएको पहिरोले सुन्दरपानी क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । पहिरोबाट विशेषगरी गोर्खा टी स्टेटमा आफ्नो हरिया पत्ती प्रशोधनका लागि ल्याउने किसानहरू प्रभावित भएका थिए ।
सञ्चालक चापागाईंले आफ्नो उद्योगमा नियमित चिया आपूर्ति गर्ने १९ जना किसानको क्षति भएको पहिचान गरी यो सहयोग उपलब्ध गराएका हुन् ।
मानवीय भावना र किसानहरूप्रतिको दायित्व महसुस गर्दै चापागाईंले यो सहयोग रकम स्थानीय सुन्दरपानी चिया सहकारीमार्फत् हस्तान्तरण गरेका छन् ।
गोर्खा टी स्टेट जिल्लाको एक अग्रणी चिया उद्योग हो । यहाँ साना तथा मझौला किसानको ठूलो सङ्ख्या आबद्ध छ। उद्योगमा हाल ३ सय ५७ जना किसानको हरिया चियापत्ती प्रशोधनका लागि आउने गर्दछ ।
अर्गानिक चिया उत्पादनमा सक्रिय चापागाईंको यो सहयोगले विपत्तिमा परेका किसानहरूलाई आफ्नो जीवनयापन र चिया उत्पादनको कार्यलाई पुनः सुरु गर्न ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

























