
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ जामुनगाछीस्थित जय हनुमान ओयल ईण्डष्ट्रिज प्रालिमा ग्यास लिक भई आगलागी हुँदा ३ जना कामदार घाइते भएका छन् ।
आज (शनिबार) बिहानको राति करिब १२ बजेर १० मिनेट जाँदा उद्योगमा अचानक ग्यास लिक भएपछि आगलागी सुरु भएको थियो । प्रहरी चौकी कटहरीबाट खटिएको टोलीले स्थानीयको सहयोगमा आगोलाई करिब ४५ मिनेटपछि नियन्त्रणमा लिएको थियो ।
आगलागीका कारण उद्योगको ग्यास सिलिन्डरमा क्षति पुगेको छ । अन्य क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगलागीमा परेर उद्योगका ३ जना कामदार घाइते भएका छन्। घाइतेहरुमा भारतीय नागरिक ३० वर्षीय अर्जुन पण्डित, कटहरीका २२ वर्षीय दीपक कामत र वीरगञ्जका २९ वर्षीय अलि आलम छन् । उनीहरूलाई उपचारका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।























