
जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का सांसद रहबर अन्सारीले मधेश प्रदेश सभाको बैठकमा आफैँ मोसो दलेर अनौठो र प्रतीकात्मक विरोध प्रदर्शन गरेका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आह्वान गरिएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सांसद अन्सारीले यस्तो कार्य गरेका हुन् ।
प्रदेश सभामा बोल्दै सांसद अन्सारीले आफ्नो अनुहारमा आफैँ मोसो दलेका थिए। मोसो दलेपछि उनले आक्रोशित हुँदै भने, ‘आज सार्वजनिक अपराध स्वीकार गर्न आएको छु। म पक्ष र विपक्ष कुनैमा मतदान गर्दिनँ । कुनै पनि पार्टीको कुरा मान्दिनँ ।’
उनले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था नबदलिएको भन्दै प्रदेश सरकार र राजनीतिक नेतृत्वप्रति कडा व्यङ्ग्य गरे ।
सांसद अन्सारीले मधेश प्रदेशका ६४ लाख जनताको अवस्था माथि प्रश्न उठाउँदै भने, ‘जेन–जी आन्दोलनले व्यवस्था बदलियो तर अवस्था बदलिएन ।’
उनको यो प्रतीकात्मक कार्यले प्रदेश सभाभित्र र बाहिर चर्चा पाएको छ । सांसद अन्सारीले यसरी आफैँलाई मोसो दलेर मधेसका आम नागरिकको निराशा र नेतृत्व वर्गले जनताको अपेक्षा पूरा गर्न नसकेको सन्देश दिन खोजेको बुझिएको छ ।
मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा सांसद अन्सारीले विश्वासको मत नदिने घोषणासमेत गरेका छन् ।

























