चेतना संरक्षण प्रतिष्ठान विराटनगरको अध्यक्षमा पुनः सुवेदी

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २२, शनिबार १८:०५

विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानको अध्यक्षमा साहित्यकार गंगा सुवेदी पुनः निर्विरोध निर्वाचित भएकी छिन्। आज (शनिबार) विराटनगरमा सम्पन्न प्रतिष्ठानको २१ औं साधारणसभाले सुवेदीलाई आगामी तीन वर्षका लागि निर्विरोध चयन गरेको हो। सुवेदीको नेतृत्वमा प्रतिष्ठानको नयाँ कार्यसमिति पनि चयन गरिएको छ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष गंगा सुवेदी (पुनः निर्वाचित),वरिष्ठ उपाध्यक्ष रेवतबहादुर कार्की, उपाध्यक्ष सरला चापागाईं, सचिव दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’, सहसचिव लक्ष्मी पोखरेल, कोषाध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’, सदस्यहरू मीनकुमार नवोदित, हरिप्रसाद बराल, करुणा जोशी, निर्मला कोइराला र नानुमैयाँ दाहाल छन् ।

‘गंगा सुवेदी असल सन्तान पुरस्कार’ प्रदान

स्वेच्छिक समाजसेवी तथा प्रतिष्ठानका संरक्षक देवकिशन मुन्दडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ‘गंगा सुवेदी असल सन्तान पुरस्कार–२०८२’ बाट विराटनगर–३ का विनोद सिग्देल र रुपा सिग्देल परिवारलाई पुरस्कृत गरिएको छ। बुवाआमा र सासु-ससुरालाई राम्रो हेरचाह गर्ने असल संस्कार अवलम्बन गर्ने छोरा-बुहारीको सम्मानस्वरूप उनीहरूलाई ११ हजार नगद राशिसहित सम्मानपत्रले सम्मानित गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुन्दडाले चेतना संरक्षण प्रतिष्ठानले भाषा, साहित्य, कला र संस्कृतिको विकासमा महत्वपूर्ण योगदान दिएको बताए। अध्यक्ष सुवेदीले पनि विगतमा जस्तै सबैको साथ र सहयोगले संस्थालाई अझै व्यवस्थित र सशक्त बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

साधारणसभाले आर्थिक तथा सांगठानिक प्रतिवेदनसमेत पारित गरेको सचिव दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’ ले जानकारी दिए। प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार मासिक कार्यक्रम तथा ‘चेतना सन्देश’ त्रैमासिक पत्रिका पनि प्रकाशित गर्दै आएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.