पुनर्स्थापना केन्द्रमा कुटपिटबाट युवकको मृत्यु, ९ जना पक्राउ

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २३, आइतबार ०९:३२
सांकेतिक तस्बिर

सुनसरी । सुनसरीको धरानमा रहेको एक पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले केन्द्रका सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको छ । धरान-११ मंगलबारेस्थित नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटका कारण मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका राईको गत मंगलबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय धरानका अनुसार पुनर्स्थापना केन्द्रको सीसी क्यामेरा फुटेज जाँच गर्दा मृतक राईलाई पाता कसेर, कम्मरमा कम्ब्याट र डोरीले हातखुट्टा चल्न नसक्ने गरी बाँधेर लडाएको देखिएको थियो ।

घटनापछि प्रहरीले केन्द्रका सञ्चालक धरान-८ का मणिराज राईसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राकेश प्रधान, श्रवण राजधानी, निकेश सुनुवार, सुरेन लिम्बु, हस्तबहादुर विश्वकर्मा, बिरु लिम्बु, सचिन राई र विजय चौधरी छन् । उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.