
विराटनगर । विराटनगर जेसीजद्वारा आयोजित जेसीज सप्ताह–२०२५ सम्पन्न भएको छ । सप्ताहभर फुट्सल प्रतियोगिता, दन्त परीक्षण शिविर, रिफ्लेक्सन ज्याकेट वितरण, चित्रकला प्रतियोगिता, कौशी खेती तालिम र स्टेशनरी वितरण लगायत सामाजिक, स्वास्थ्य, युवा तथा शैक्षिक कार्यक्रम गर्दै सम्पन्न भएकाे हाे ।
समापन समारोहमा जेसीज सप्ताहका मुख्यकार्यक्रम संयोजक राजुकुमार मण्डललाई उत्कृष्ट कार्यक्रम संयोजकको रूपमा “निभा अवार्ड” प्रदान गरिएकाे थियाे ।
सोही अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाे भन्दै नेपाल पत्रकार महासंघ माेरङकी अध्यक्ष सुशीला पाठकलाई सम्मान प्रदान गरिएको छ ।
त्यस्तै, स्वास्थ्य सेवा क्षेत्रमा योगदान पुर्याएकी नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजकी सञ्चालक सोइना शर्मालाई सम्मान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि विराटनगरका मेयर नागेश कोइरालाले सम्मानपत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै उनले कौशी खेतीमार्फत घरमै ताजा र विषमुक्त तरकारी उत्पादन गर्न सकिने बताए । जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले सप्ताहले सामाजिक जागरण र युवा सशक्तीकरणको सन्देश फैलाउनुका साथै नेतृत्व विकासका लागि उत्कृष्ट मञ्च प्रदान गरेको उल्लेख गरे ।
मुख्य कार्यक्रम संयोजक कविराज दाहालले टिमको प्रतिबद्धता र मेहनतले कार्यक्रम सफल भएको बताए ।

























