शिक्षामन्त्री पुनको चेतावनीः ‘चुनाव प्रचारमा लागेर पढाउन नछाड्नू’

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २४, सोमबार १०:४८

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक तथा प्राध्यापकका संघ संगठनहरूलाई राजनीतिक दलको भ्रातृ संस्थाको रूपमा स्वीकार नगरिने भनी जारी गरिएको सूचनाबारे थप प्रस्ट पारेका छन् । उनले शिक्षक संघ संगठनहरू राजनीतिक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो अडान स्पष्ट पारेका हुन् । उनले भनेका छन्, “संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन। तर, राजनैतिक पार्टीहरूको संरक्षणमा विद्यालयहरू र विश्वविद्यालयहरूको सञ्चालनमा बाधा अड्चन पुर्‍याउन र विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्न पाइने छैन भनेर सूचना गरेको हो ।”

सिटिइभिटी, विद्यालयहरू र विश्वविद्यालयहरूमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरू र अभिभावकहरूको हजारौँ गुनासो र उजुरी सुनेर उक्त सूचना प्रकाशित गरिएको मन्त्री पुनले प्रस्ट पारेका छन्। उनले त्यस्तो अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने कामलाई भ्रष्टाचारसरह मानेका छन्।

मन्त्री पुनले सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरू समेत हेर्न अनुरोध गर्दै भनेका छन्, “अब फागुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ।”

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.