
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पथलैया–निजगढ सडकखण्डमा जंगली हात्तीको आक्रमणबाट एक ट्रक चालकको मृत्यु भएको छ ।
सोमबार बिहान करिब ८ बजे ना४ख १८३० नम्बरको ट्रक चालकमाथि हात्तीले आक्रमण गरेको हो । ट्रकबाट हाम्फालेर भाग्न खोज्ने क्रममा हात्तीको आक्रमणबाट जितपुरसिमरा–१ का करिब ४० वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
आइतबार बेलुकादेखि नै हात्तीले आतंक मच्चाएपछि प्रशासनले पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको थियो । तर, केही गाडीका चालकहरूले अटेर गर्दा सोमबार बिहान यो दुःखद घटना भएको बारा प्रहरीले जनाएको छ ।
राजमार्ग क्षेत्रमा आतंक मच्चाउने हात्ती धपाउनका लागि बारा र चितवनबाट समेत हात्तीसहितको विशेष टोली परिचालन गरिएको बारा प्रहरीले जनाएको छ । टोली परिचालन भएसँगै सो सडकखण्डमा सोमबार दिउँसो १२:३० बजेपछि राजमार्गमा गाडीहरू गुड्न थालेका छन् ।

























