
विराटनगर । मोरङको उर्लाबारी निवासी रजनी थापा यस वर्षको प्रतिष्ठित ‘मिस कोशी २०२५’ को उपाधि जित्न सफल भएकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न नवौँ संस्करणको यस प्रतियोगितामा रजनीले १६ जना फाइनलिस्टहरूलाई पछि पार्दै ताज पहिरिएकी हुन् ।
उपाधि विजेता थापाले नगद १ लाख रुपैयाँ र विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गरेकी छिन् । प्रतियोगितामा सुनसरी, बर्जुकी दीपाञ्जली राई ‘फस्ट रनर अप’ भइन् भने इनरुवाकी गरिमा शाशंकर (गुराँस) ले ‘सेकेन्ड रनर अप’ को उपाधि जितिन् । यसैगरी, काठमाडौँकी भूमिका नेपाल ‘थर्ड रनर अप’ र धरानकी दिया राई ‘फोर्थ रनर अप’ घोषित भए।
विधागततर्फ उत्कृष्ट
विजेता रजनी थापाले मुख्य उपाधिसँगै ‘मिस पर्सनालिटी’ को पनि उपाधि जितिन् । यसैगरी, गरिमा शाशंकर (गुराँस) ‘मिस ट्यालेन्ट’, युनिका विश्वकर्मा ‘मिस पपुलर’ र ‘मिस मल्टिमिडिया’, अपेक्षा चौधरी ‘मिस पब्लिक च्वाइस’ र ‘मिस क्याटवाक’ तथा सरु लिम्बु ‘मिस ब्युटी विथ ब्रेन’ घोषित भइन् ।
अन्य विधागत उपाधिहरूमा लक्ष्मी चौधरीले ‘अर्गनाइजर च्वाइस’ र ‘मिस इन्टेलेक्टु’ सिमरन साहु ‘मिस फोटोजेनिक’, दिया राई ‘मिस ब्यूटिफूल स्माइल’, दीपाञ्जली राई ‘मिस ब्यूटिफूल हेयर’, निमा राजवंशी ‘मिस फिजिक’, दीपिका शाह ‘मिस बेस्ट ट्रान्सफरमेशन’ र भूमिका नेपाल ‘मिस रिफरेसिङ फेस’ भए।
प्रतियोगिताको निर्णायक मण्डलमा विपी कोइराला प्रतिष्ठानका डिन डा. शिवेन्द्र झा, राष्ट्रिय साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिदेव घिमिरे, ‘मिस कोशी २०२४’ विजेता शुभरश्मी राई र निर्माता तथा निर्देशक नितिनकुमार चन्द थिए ।

























