
काठमाडौँ । पोखरामा भएको जेनजी प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य विक्रम पाण्डे पनि रहेको प्रहरीले जनाएको छ । पाण्डेलाई ‘अभिमन्यु’ उपनामले पनि चिनिन्छ ।
जिल्ला प्रहरी कार्यालय पोखराका प्रवक्ता तथा डिएसपी हरीबहादुर बस्नेतले पक्राउको पुष्टि गर्दै भने, ‘केही व्यक्तिहरू पक्राउ पर्नुभएको छ र उहाँहरूमाथि अनुसन्धान सुरु भएको छ।’ उनले जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार रास्वपा सदस्य पाण्डेले प्रदर्शनका क्रममा पृथ्वीचोकमा रहेको सहिद लखन थापाको शालिक फुटाल्ने कार्यमा संलग्न रहेको आरोप छ । यसका साथै, व्यवसायी बिन्दु थापाको घरमा आगजनी गर्नेसम्मको भूमिकामा उनको सक्रिय संलग्नता रहेको प्रहरीले दाबी गरेको छ ।
पाण्डे यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन् । उनी सङ्घर्षशील सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए । प्रहरीले घटनामा संलग्न अन्यको खोजीलाई तीव्र पारेको र पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको बताएको छ ।

























