निर्वाचन तयारीको ६० प्रतिशत काम सम्पन्न

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २६, बुधबार १९:२०

काठमाडौं । आगामी फागुनमा गर्ने भनेर घोषणा गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तयारी तीव्र पारिएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले हालसम्म चुनाव तयारीको ६० प्रतिशत काम सकिएको जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिए । त्यस क्रममा आयोगका पदाधिकारीले निर्वाचन तयारीका लागि अहिलेसम्म भएको कामका बारेमा जानकारी गराएका हुन् ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारीअन्तर्गत ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको बताए । तयारीका आधारमा फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको पनि उनले बताए ।

आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको भण्डारीको भनाइ छ । तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन आयोग सक्ष्म रहेको उनले बताए ।

निर्वाचनलाई लक्षित गरेर आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा गर्ने गरिएको, जनशक्ति थप गरिएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको जानकारी उनले दिए । हालसम्म १ करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अभिलिखित रहेका छन् ।

निर्वाचन घोषणापछि मात्र २ लाख ९ हजार ५ सय ५२ मतदाता थपिएको जानकारी कार्यवाहक प्रमुख आयुक्त भण्डारीले दिए । हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको पनि आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.