कार्की मन्त्रिपरिषद्का ७ सदस्यले बुझाए सम्पत्ति विवरण

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २८, शुक्रबार १५:१७

काठमाडौं । जेनजी आन्दोलनपछि गठन गरिएको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ सात जनाले सम्पत्ति विवरण बुझाएका छन् । ३ जनाले अझै बुझाएका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाँकी विवरण प्राप्त गर्ने क्रम जारी रहेको जनाएको छ । पूर्वप्रधानन्यायाधीश कार्की भदौ २७ गते प्रधानमन्त्री बनेकी थिइन् । त्यसको ३ दिनपछि उनले पहिलो चरणमा ३ मन्त्री नियुक्त गरिन् ।

पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्धनिर्देशक कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री र अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री नियुक्त भए । भदौ, असोज र कात्तिक मिलाएर ६१ दिनको कार्यकाल बिताइसकेका यी तीनमध्ये अर्थमन्त्री खनाल र गृहमन्त्री अर्यालले सम्पत्ति विवरण बुझाएका छन् ।

तर, ऊर्जामन्त्री घिसिङको विवरण अझै प्राप्त भएको छैन । प्रधानमन्त्री कार्कीले दोस्रो चरणमा गत असोज ६ मा ४ जना मन्त्री थपेकी थिइन् । यस चरणमा अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा पुगे ।

महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बने । मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकास मन्त्री बने भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जगदीश खरेलले पाए ।

असोज र कात्तिक मिलाएर ५४ दिन पुगेका यीमध्ये सञ्चारमन्त्री खरेलले सम्पत्ति विवरण बुझाएका छैनन् । बाँकी तीनै मन्त्रीले विवरण बुझाइसकेका छन् ।

तेस्रो चरणमा ९ कात्तिकमा मन्त्रिपरिषद् विस्तार हुँदा पूर्वस्वास्थ्य सचिव सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बने । यीमध्ये खेलकुद मन्त्री गुप्ताले सम्पत्ति विवरण बुझाइसके पनि स्वास्थ्य मन्त्री शर्माले बुझाएकी छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार विवरण संकलनको प्रक्रिया जारी छ । उनले भने, ‘सबै मन्त्रीका विवरण प्राप्त भएपछि सार्वजनिक गर्ने काम अगाडि बढाइनेछ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.