
विराटनगर । सुनसरीको दुहबीमा सशस्त्र प्रहरीका सहायक हवल्दार शुक्रबार दिउँसो झुन्डिएको अवस्थामा फेला परेका छन् ।
सुनसरीको बर्जु गाउँपालिका–५ घर भइ दुहबी नगरपालिका–८ सोनापुरमा डेरा गरी बस्ने ३८ वर्षीय तनेस चौधरी डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन् । सुनसरी प्रहरी प्रमुख एसपी केशव थेवेका अनुसार डेरा बसेकै घरमा झुन्डिएको फेला पारेपछि स्थानीयले डोरी काटेर उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याएको केहीबेरमै चौधरीलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शव हाल सोही अस्पतालमा छ । सशस्त्र प्रहरीका सहायक हवल्दार चौधरी भक्तपुरमा कार्यरत थिए ।
उनी कहिले बिदामा आएका थिए भनेर यकिन भइसकेको छैन । परिवारसँगको सामान्य विवादपछि उनी आफैंले डोरीको पासो लगाएर झुन्डिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी थेवेले बताए ।

























