
विराटनगर । सुनसरीको धरानबाट प्रहरीले शुक्रबार राति गाँजा बरामद गरेको छ । धनकुटाबाट २ वटा मोटरसाइकलमा ल्याउँदै गरिएको गाँजा फेला परेको हो ।
कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–४ मा प्रहरीले राति १०ः२० बजेतिर चेकजाँचका लागि २ वटा मोटरसाइकल रोकेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले रोक्नसाथ दुवै मोटरसाइकल छाडेर चालक फरार भएका थिए ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा प्याक गरेर राखिएको ४९ किलो गाँजा बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी केशव थेवेले बताए । उनका अनुसार गाँजा बरामद गरेर दुवै मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।
बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकल आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

























