धरानबाट अढाई क्वीन्टल बढी गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ३०, आइतबार १०:४४

विराटनगर । सुनसरीको धरानबाट प्रहरीले शनिबार राति ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । धरान उपमहानगरपालिका–१७ र २० को सिमानामा रहेको चम्पुले खोलाको जंगलबाट गाँजा बरामद भएको हो ।

सुनसरी प्रहरी प्रमुख एसपी केवश थेवेका अनुसार गाँजा अढाई क्वीन्टलभन्दा बढी छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले राति ११ः२५ बजेतिर २ सय ६८ किलो गाँजा बरामद गरेको हो ।

गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देख्नसाथ गाँजा ओसारपसारमा संलग्न १०–११ जनाको समूह फरार भएको छ । प्रहरीले देख्नसाथ गाँजा फालेर फरार भएकाको खोजी तीव्र पारिएको एसपी थेवेले बताए ।

उनका अनुसार १० वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको हो । बरामद भएको गाँजालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी थेवेले दिए ।

त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–१३ सोमबारेबाट शनिबार साँझ २५ किलो गाँजा बरामद भएको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र प्रहरी चौकी खनारबाट खटिएको टोलीले गणेश पेट्रोल पम्पअगाडिबाट गाँजासहित २ जनालाई साँझ ५ः४० बजेतिर पक्राउ गरेको हो ।

गाँजा प्याक गरिएको २ वटा बोरा लिएर बसिरहेको अवस्थामा इटहरी–१३ का २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदारलाई पक्राउ गरिएको एसपी थेवेले बताए । उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर बोरा खानतलासी गर्दा २५ किलो गाँजा बरामद भएको हो ।

बरामद भएको गाँजासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.