
विराटनगर । विराटनगर महानगरपालिकाको त्रैमासिक समीक्षा टेन्टभित्र गरिएको छ । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी टेन्टभित्रै सञ्चालन गर्नु परेको हो ।
जेनजी आन्दोलनको आवरणमा अराजक समूहले भदौ २४ गते आगजनी र तोडफोड गरेर महानगरको भवन ध्वस्त पारेपछि टेन्टभित्रै समीक्षा गोष्ठी सञ्चालन गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा भएको गोष्ठीमा चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा महानगरबाट भएका कार्यप्रगति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, भौतिक पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापा, आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीव भट्टराई, शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगाना, कानुन शाखाकी प्रमुख शारदा थपलियाले आ–आफ्ना शाखा र महाशाखाले गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै, सामाजिक विकास महाशाखाकी प्रमुख मञ्जु लोहनी, भण्डारण शाखा प्रमुख अजय साह, विपद् तथा वातावरण शाखा र सूचना शाखाकी प्रमुख कमला निरौला, नगर प्रहरीका प्रमुख राजन पौडेललगायतले पनि आफ्नो महाशाखा र शाखाले साउनदेखि असोज मसान्तसम्म गरेका कार्यप्रगति प्रस्तुत गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।
समीक्षा अवधिमा महानगरले आन्तरिकतर्फ ११ करोड, ९८ लाख २७ हजार ७ सय ७९ रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा ३५ वटा व्यवसाय दर्ता हुँदा ३५ वटा खारेज भएका छन् । यसअवधिमा ३ हजार ५५ वटा व्यवसाय नवीकरण गरिएको राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडा कार्यालयमा आगजनी गरिएको थियो । जसका कारण सेवा प्रवाहमा समस्या भइरहेको छ । स्थान अभावकै कारण महानगरले समीक्षा गोष्ठी टेन्टभित्र आयोजना गरेको छ ।

























