
विराटनगर । कोशी प्रदेश सरकारले ३६ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आगामी मंसिर ४ गते मनाउने भएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सिविन नेपालको व्यवस्थापनमा कार्यक्रम गरिने भएको हो । बाल अधिकार दिवसको अवसरमा वक्तृत्वकला र निबन्ध प्रतियोगितामा सर्वोत्कृष्ट हुने बालबालिकालाई नगदसहित सम्मान गरिने भएको छ ।
बाल दिवस संयोजन तथा व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने कार्यक्रमको तयारीबारे छलफल भएको छ । व्यवस्थापन समिति संयोजक तथा मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बरालका अनुसार निबन्ध प्रतियोगिताका लागि मन्त्रालयमा आएका निबन्धहरु मध्येबाट उत्कृष्ट ३ वटा छनोट गर्ने काम भइरहेको छ ।
उत्कृष्ट निबन्ध छनोटका लागि छनोट समितिले काम गरिरहेको उनको भनाइ छ । वक्तृत्वकला प्रतियोगितामा बाल गृहहरुमा रहेका बालबालिकाबीच प्रतिष्पर्धा हुने भएको छ ।
सोही कार्यक्रममा कोशी प्रदेशमा बालबालिकाको अवस्था सम्बन्धी स्थितिपत्र सार्वजनिक गरिने भएको छ । यसअघि २०७७ सालमा प्रदेशमा बालबालिका सम्बन्धी स्थितिपत्र सार्वजनिक गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गर्दै पक्ष राष्ट्रहरुले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।























