
विराटनगर । झापाका अगलअलग स्थानमा दुर्घटनामा परेर घाइते भएका २ जनाको मृत्यु भएको छ । मृतक बुद्धशान्ति र गौरादहका हुन् ।
बुद्धशान्ति गाउँपालिका–४ मंगलबारेस्थित भित्री सडक खण्डमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भञ्ज्याङबाट मंगलबारेतिर जाँदै गरेको मे १० प ११०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर शनिबार राति ९ः३० बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक बुद्धशान्ति–४ का २६ वर्षीय अभिषेक नेवार घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको थियो । आफन्तले आइतबार घर लिएर गएका थिए ।
घरमा लगेर राखिएका नेवारको सोमबार बिहान ६ः३० बजेतिर मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै, गौरादह नगरपालिका–१ मा १ साताअघि मिनी ट्रकमा आटो टेम्पो ठोक्किँदा घाइते भएकी महिलाको मृत्यु भएको छ । पाडाजुंगी–गौरीगन्ज सडक खण्ड भएर गैरियाबाट गौरादहतर्फ जाँदै गरेको मे १ ह ५७५४ नम्बरको अटो धान लोड गर्दै गरेको प्रदेश १–०२–००१ ख ९०९३ नम्बरको मिनी ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।
गत कात्तिक २१ गते साँझ ७ः४० बजेतिर दुर्घटना हुँदा घाइते भएकी अटोमा सवार गौरादह–१ की ३७ वर्षीय खुस्बु खातुनको आइतबार मृत्यु भएको डीएसपी खड्काले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी खातुनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।
उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर अटो चालकसमेत रहेका खातुनका पति ४८ वर्षीय मोहमद डोमा घाइते भएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























