बालाचतुर्दशीमा शतबीज छर्नेको घुइँचो

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार ०८:१७

काठमाडौं । मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी आज (बुधबार) परेको छ । बालाचतुर्दशीमा पशुपतिसहित देशभरका शिवालयहरुमा दिवंगत पितृको सम्झनामा शतबीज छर्ने चलन छ ।

अघिल्लो रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ ।

विभिन्न शिव मन्दिरमा बिहानैदेखि शतबीज छर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन शिवालयहरुमा भक्तजन पुग्ने गरेका छन् ।

बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका १ मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै चिउरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई १ रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएको कथन छ ।

मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । मातापिता दिवंगत भएमा १ वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने धर्मशास्त्रविद्को भनाइ छ ।

धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा गर्न नहुने उल्लेख छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पनि पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.