
विराटनगर । । मोरङको केराबारी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जना युवा घाइते भएका छन् । केराबारी–६ स्थित आहाले टोलमा सोमबार बिहानपख हात्तीले आक्रमण गर्दा स्थानीय २८ वर्षीय कृष्णबहादुर विक घाइते भएका हुन् ।
घटना बुधबार बिहान करिब ४:३० बजेको हो । छिमेकी लालबहादुर जर्गा मगरको घरबाट आफ्नो घरतर्फ फर्कने क्रममा विकलाई आहाले सामुदायिक वनबाट निस्किएको जंगली हात्तीले एक्कासी आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेका विकको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको र परिवारका सदस्यहरू उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक मनोज अधिकारीको कमान्डमा खटिएको टोलीले घटनास्थलको निरीक्षण गरी थप अनुसन्धान सुरु गरेको छ । केराबारी क्षेत्रमा जंगली हात्तीको आवागमन बढेसँगै स्थानीय त्रसित बनेका छन् ।























