
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा पेसी चढेको छ । प्रसाईंको उक्त निवेदन सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
प्रसाईंमाथि हाल सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीको विश्लेषणअनुसार उनले आन्दोलन घोषणा गरेर दिएका भड्काउपूर्ण अभिव्यक्ति र उनका गतिविधिहरूले देशमा हिंसा भड्किन सक्ने देखिएको थियो ।
सोही विश्लेषणका आधारमा प्रहरीले गत मङ्सिर १ गते उनलाई भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।पक्राउ पर्नुअघि प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । उनले देशको प्रतिष्ठासँग जोडिएको नेपाल प्रिमियर लिग (एनपीएल) समेत रोक्न क्यानका अधिकारीहरूलाई चेतावनी दिएको खबर पनि सार्वजनिक भएको थियो।

























