
सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ अन्तर्गत सिमरा चोकमा जेनजी युवाहरू र प्रहरीबीच आज (बिहीबार) बिहानैदेखि झडप सुरु भएको छ । आफ्ना समूहका युवालाई कुटपिट गर्ने एमालेका कार्यकर्ताहरूलाई पक्राउ गर्नुपर्ने माग गर्दै युवाहरू आज पनि सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।
हिजो दिनभर तनावग्रस्त बनेको सिमरा क्षेत्रमा आज बिहानैदेखि जेनजी युवाहरूले प्रदर्शन सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ, जसकारण दोहोरो झडप भएको हो।
झडप र कुटपिटको घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमुदिन अन्सारी लाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।
पक्राउ परेका दुई वडाध्यक्षलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
किटानी जाहेरीस् प्रहरीका अनुसार, मंगलबारको झडपपछि आक्रमणबाट घाइते भएका न्भल(श् बाराका संयोजक सम्राट उपाध्याय ले घटनामा संलग्न भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए। त्यसपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
यो तनाव बुधबार एमालेले बाराको परवानीपुरमा राखेको मधेस प्रदेशस्तरीय जनजागरण सभा कार्यक्रमलाई लक्षित गरी सुरु भएको थियो । उक्त सभालाई सम्बोधन गर्न पार्टी महासचिव शङ्कर पोखरेल, युवा नेता महेश बस्नेत लगायतका नेताहरू जहाजमार्फत सिमरा आउँदै थिए ।
एमाले नेताको विरोध गर्न जेनजी युवाहरू सिमरा चोकमा भेला भएका थिए भने आफ्ना नेताको स्वागत गर्न एमाले सम्बद्ध युवाहरू विमानस्थल जाँदै थिए। त्यही बेला दुवै पक्षबीच विवाद चर्किएपछि द्विपक्षीय झडप भएको थियो, जसका कारण सिमरा क्षेत्र दिनभर तनावग्रस्त बन्यो।
झडपका क्रममा एमालेका कार्यकर्ताको आक्रमणबाट जेनजी बाराका संयोजक सम्राट उपाध्याय घाइते भएका थिए। आक्रोशित युवाहरूको समूहले सिमरा विमानस्थलमा पुगेर विमानस्थलको गेट तोडफोड गर्नुका साथै विमानस्थल कार्यालयमा ढुङ्गा र सिसाका बोतलहरू प्रहार गरेका थिए ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले दुई राउन्ड अश्रुग्यास हानेर उनीहरूलाई तितरबितर पारेको थियो। विमानस्थलबाट फर्किएका युवाहरूले त्यसपछि सिमरा चोकमा टायर बालेर चर्को नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
प्रहरीले बुधबार बिहान १० बजेसम्म जेनजी युवाहरूलाई कुटपिट गर्ने एमालेका कार्यकर्ताहरूलाई प्रहरी कार्यालयमा उपस्थित गराउने प्रतिबद्धता जनाएपछि मात्रै प्रदर्शनकारी युवाहरूले साढे ६ बजेबाट प्रदर्शन स्थगित गरेका थिए । तर आज फेरि झडप भएको छ ।

























