सिमरा घटनाः मानव अधिकार आयोगको सरकारलाई निर्देशन, ‘शान्ति सुरक्षा मजबुत बनाऊ’

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १३:५१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा उत्पन्न परिस्थितिलाई लिएर गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई शान्ति सुरक्षा मजबुत बनाउन निर्देशन दिएको छ । आयोगले घटनाको छानबिन गर्न र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरेको छ ।

बुधबारदेखि सिमरामा उत्पन्न तनावग्रस्त अवस्थाबारे ध्यानाकर्षण गराउँदै आयोगले सम्बन्धित सबै पक्षलाई संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने कार्यमा सहयोग पुर्‍याउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल द्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘ूशान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।’

आयोगले यस घटनाको अनुगमन गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

आयोगको अनुगमन अनुसार, बुधबार राजनीतिक दलका कार्यकर्ता र जेनजी युवाहरूबीच विवाद उत्पन्न भएपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढेको थियो । झडपका कारण एयरपोर्टको गेटमा क्षति पुगेको, उडानहरू प्रभावित भएको र त्यसपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

आयोगले यस घटनामा पाँच जना घाइते भएको विवरण पाएको जनाएको छ । घाइतेहरूको नगर अस्पतालमा उपचार भएको र घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको भन्ने प्रारम्भिक जानकारी आयोगलाई प्राप्त भएको जनाइएको छ ।

आयोगले देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भन्दै गम्भीर हुन ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको घटनाले संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक हनन हुनुका साथै निर्वाचनका सरोकारवालाहरूबीच आपसी सद्भावमा समेत प्रतिकूल प्रभाव पर्न जान्छ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.