कोशी प्रदेशमा ट्राफिक सक्रियता, लागुऔषध सेवन गर्ने सवारी चालक पक्राउ

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १४:४९

विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय ट्राफिक प्रहरीको सक्रियता बढेको छ । जेनजी आन्दोलनका नाममा अराजक समूहले इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयसहित ट्राफिक प्रहरीका विभिन्न युनिटमा आगजनी र तोडफोड गरेको थियो ।

अराजक समूहको निसानामा परेपछि मनोबल खस्किएर सुस्ताएको ट्राफिक प्रहरीले पछिल्लो समय सडकमा सक्रियता बढाएको हो । १४ वटा जिल्ला रहेको प्रदेशमा सवारीसाधनमाथि निगरानी बढाउने, नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने, जनचेतनामूलक कार्यक्रमहरु गर्नेलगायतका काम ट्राफिक प्रहरीले गरिरहेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा चेकजाँच गर्दा गर्दा लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने ८ जना चालक तथा सहचालक पक्राउ परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको संयुक्त टोलीले चालकहरूको व्यवहार, बोलीचाली र शारीरिक अवस्था शंकास्पद देखिएपछि चिकित्सकीय परीक्षण गराएको थियो ।

परीक्षणमा उनीहरूले सवारी चलाउने क्रममा लागुऔषध सेवन गरेको पुष्टि भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले बताए । पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन प्रहरीले बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ का २२ वर्षीय रोहन विक, धरान–५ का ३० वर्षीय विनय विक, २७ वर्षीय विमल राई, इनरुवा नगरपालिका–९ का २३ वर्षीय अभिषेक चौधरी, दुहबी नगथरपालिका–८ का २८ वर्षीय दिवश चौधरी, झापाको दमक नगरपालिका–१३ का ३९ वर्षीय अर्जुन पौदार, मोरङको बवियाबिर्ताका ४३ वर्षीय पञ्चलाल खवास र बेलबारी नगरपालिका–९ का ३२ वर्षीय रमेश चौधरी रहेका छन् । उनीहरुमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो चरणमा ५ दिनको म्याद दिएको छ ।

पछिल्लो समय लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने र ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढेसँगै सबैतिर कडाइ गरिएको एसपी गिरी बताउँछन् । सडक सुरक्षालाई मजबुत बनाउन ट्राफिक प्रहरीलाई सक्रिय गराइएको उनले बताए ।

‘मादक पदार्थ सेवन (मापसे), लागुपदार्थ सेवन (लापसे) र नियम उल्लंघन सवारी दुर्घटनाको प्रमुख कारणहरु हुन् । असावधानीले दुर्घटना भएर जनधनको ठूलो क्षति हुन्छ । त्यही भएर प्रदेशभर आकस्मिक चेकिङ, कानुनी कारबाही र स्वास्थ्य परीक्षणलाई तीव्र पारेका छौं,’ गिरीले भने । जेनजी आन्दोलनको नाममा भदौ २४ गते ट्राफिक कार्यालयमा भएको आगजनी, तोडफोड र लुटपाटलगायतका घटनाका कारण केही समय ट्राफिक प्रहरीलाई मैदानमा निस्किन समस्या परेको थियो ।

अवस्था सामान्य भएसँगै ट्राफिक कारबाही तीव्र पारिएको छ । सडकमा सार्वजनिक सवारीको चाप बढ्दै जाँदा ट्राफिक प्रहरीले पुनः सक्रियता बढाउँदै प्रदेशभरका मुख्य तथा सहायक राजमार्ग, सहरका मुख्य चोक, बसपार्क, पेट्रोलपम्प, पार्किङ क्षेत्र तथा होटल–लज वरपर ट्राफिकले निगरानी बढाउन थालेको छ ।

नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गर्दै चालकलाई गल्ती नहोर्याउन सम्झाइबुझाइ गर्ने गरेको छ । खासगरी राति मालवाहक सवारी, माइक्रो, मोटरसाइकल र लामो दूरीको यात्रामा संलग्न चालकले कामको दबाब, रात्रि थकान र अस्वस्थ व्यवहारका कारण लागुपदार्थ सेवन गर्ने प्रवृत्तिसमेत बढ्दै गएको छ । यस्ता चालकहरू उच्च जोखिम समूहमा पर्ने भएकाले उनीहरूलाई लक्षित गरी विशेष निगरानी गर्न थालिएको हो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले आकस्मिक चेकजाँच, जनचेतनामूलक अभियान, कारबाहीजस्ता रणनीति अपनाएको छ । साथै, प्रविधिमूलक निगरानी पनि ट्राफिक प्रहरीको प्राथमिकतामा परेको छ । सवारी दुर्घटना न्यूनीकरणमा प्रभावकारी हुने देखिएपछि चेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको छ ।

‘सडकमा कडा निगरानी र कानुनी कारबाहीलाई एकसाथ अघि बढाइएको छ । लागुऔषधको असर तत्कालै देखिने भएकाले सडकमा चालक र सहचालकले देखाएका असामान्य गतिविधिका आधारमा परीक्षण गर्ने गरिएको छ,’ एसपी गिरी भन्छन् । प्रदेशभर यातायातको चाप बढेसँगै चालकको सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले प्रहरीले सबै चालकलाई नियम पालन गर्न र सचेत रहन आग्रह गरेको छ ।

एसपी गिरीका अनुसार लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न आगामी दिनमा ट्राफिक प्रहरी झन् कडा रूपमा प्रस्तुत हुन्छ । नियमित चेकिङलाई ‘नियमित एजेन्डा’का रूपमा प्रदेशभर विस्तार गरिँदैछ ।

सवारी चालकदेखि पैदलयात्रीसम्म सचेत भएमा दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने गिरीले बताए । नियम उल्लंघन गर्नेलाई भने उन्मुक्ति दिन नसकिने उनको भनाइ छ । ‘लागुऔषध सेवन गरेको वा नगरेको परीक्षण गर्ने किट निक्कै महँगो पर्छ । ट्राफिक प्रहरीले किनेर प्रयोग गर्न सक्ने अवस्था छैन । त्यही भएर स्थानीय तहलगायतका निकायसँग समन्वय गरेर कारबाही अघि बढाउने गरिएको छ,’ उनले भने ।

 

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.