न्यायाधीशविरुद्धको उजुरी छानबिन नहुँदा सर्वोच्चमा रिट

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १९:४०

काठमाडौं । न्याय परिषद्मा दर्ता गरिएका उजुरी वर्षौंदेखि छानबिनमा नलगिएको भनेर सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अधिवक्ता प्रेमसिंह धामीले खराब आचरण र कार्यक्षमता अभाव देखिएको दाबी गरेर ४ न्यायाधीशविरुद्ध दिएको उजुरी निष्क्रिय अवस्थामा रहेको भन्दै न्याय परिषद्का अध्यक्षसहित ६ जनालाई विपक्षी बनाएर बिहीबार रिट दर्ता गराएका हुन् । अधिवक्ता धामीले गत साउन ६ गते ललितपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश पुष्पराज थपलिया तथा उच्च अदालत पाटनका न्यायाधीशहरु कृष्णराम कोइराला, चन्द्रमणि ज्ञवाली र टीकाराम आचार्यविरुद्ध उजुरी दर्ता गरेका थिए ।

Advertisement

उनीहरुको गतिविधि, व्यवहार तथा निर्णय प्रक्रियामा ‘खराब आचरण, बदनियतपूर्वक काम कारबाही, कार्यक्षमता अभाव र न्यायिक आचारसंहिता उल्लंघन’ भएको लगायतका विषय रिटमा उल्लेख गरिएको छ । विशेषगरी न्यायाधीश कृष्णराम कोइरालाले आर्थिक लेनदेनमा संलग्न रही आफू पक्षधर रहेको १ व्यक्तिलाई साथ दिने मनसायले चेक अनादरसम्बन्धी मुद्दामा एकतर्फी फैसला गरेको दाबी गर्दै धामीले सो व्यवहार स्वतः कारबाही योग्य भए पनि परिषद्ले केही नगरेको आरोप लगाएका छन् ।

कानुनअनुसार कैद सजाय तोकिए पनि जरिबाना तिर्न नपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै फैसलामा रकम उल्लेख गरिएको भनेर उनले रिटमार्फत प्रश्न उठाएका छन् । रिटमा न्याय परिषद् ऐन २०७३ का दफा १७, १८ र १९ अनुरूप उजुरी परेपछि अनिवार्य रूपमा प्रारम्भिक छानबिन सुरू गर्नुपर्ने प्रावधान हुँदाहुँदै ३ महिनाभन्दा बढी समयसम्म प्रक्रिया अगाडि नबढाएको भन्दै सर्वोच्च अदालतसँग तत्काल छानबिनका लागि परमादेश माग गरिएको छ ।

धामीका अनुसार परिषद्ले उजुरीमाथि आवश्यक कदम नचलाउँदा न्यायिक जवाफदेहितामाथि प्रतिकूल प्रभाव परेको छ । सर्वोच्च अदालतले दर्ता भएको रिट अध्ययनको क्रममा रहेको जनाएको छ । अदालतले प्रारम्भिक आदेश दिन्छ वा दिँदैन भन्ने विषयमा अबको छलफलपछि निर्णय हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.