
विराटनगर । विराटनगरमा जारी १४ औँ राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगिता दीक्षा कार्की प्रथप भएकी छन् ।
विराटनगर जुनियर जेसीजले आयोजना गरेको ‘उज्ज्वल भविष्यका लागि सँगै उठौँ’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा मोरङको बेलबारी जुनियर जेसीजकी दीक्षा कार्की प्रथम भएकी हुन् । भद्रपुर जुनियर जेसीजका आर्यन कोइराला द्वितीय र विराटनगर जुनियर जेसीजकी संयुक्ता पोखरेल तृतीय भए ।
साहित्यकार विवश पोखरेल, कवि देवेश प्रधानलगायतको निर्णायक टोलीले विजेताको नाम घोषणा गरेका थिए । त्यस्तै लिडर्स एकेडेमीअन्तर्गत नेतृत्व विकास र भातृत्व अभिवृद्धिसम्बन्धी प्रशिक्षणका साथै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको कार्यक्रम संयोजक प्रशिका निरौलाले जानकारी दिइन् ।
नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापाको उपस्थितिमा भएको कार्यक्रममा मेचीदेखि महाकालीसम्मका विभिन्न शाखाबाट १ सय ३२ जनाको सहभागिता रहेको थियो ।
सो अवसरमा विराटनगर जुनियर जेसीजको ३० औँ वार्षिकोत्सवसमेत मनाइएको थियो । विराटनगर जुनियर जेसीजकी अध्यक्ष आयुषा खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।

























