
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका तपस्वी भनिने रामबहादुर बम्जनको मुद्दा आज सर्वोच्च अदालतमा पेसीमा चढेको छ । सर्लाही जिल्ला अदालतको आदेशले कारागारमा रहेका बम्जनले थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
बम्जनविरुद्ध २०८१ फागुन ५ गते सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँ बिगो कायम गरी सोको दोब्बर जरिवाना र कसुर अनुसारको कैद सजाय माग गरिएको छ । जिल्ला अदालत सर्लाहीले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध बम्जन उच्च अदालत जनकपुर गएका थिए, तर उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो ।
उच्च अदालतले पनि थुनामै राख्ने आदेश दिएपछि बम्जन मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अन्तर्गत निवेदन लिएर सर्वोच्च अदालत आएका हुन् । यौन दुराचार मुद्दामा पाएका थिए सफाइ यसअघि बम्जनलाई एक नाबालिका अनुयायी (आनी) माथि यौन दुराचार गरेको आरोपमा सर्लाही जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र ५ लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो।
फैसलाविरुद्ध पुनरावेदन गर्दा उच्च अदालत जनकपुरले गत चैत ६ गते जिल्लाको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको थियो । यौन दुराचार मुद्दामा सफाइ पाएर जेलमुक्त हुने बाटो खुले पनि उनी सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण थुनामै रहेका छन् ।

























