
बारा । जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङको नेतृत्वमा गएको एक टोली पूर्वसूचनाबिनै पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान सङ्घीय सांसद किसान श्रेष्ठको निजी निवासमा जबर्जस्ती प्रवेश गरेको छ ।
श्रेष्ठ घरमा नभएको मौका छोपी गएको उक्त समूहले घरका कर्मचारी र सहयोगीहरूलाई ‘ज्यान लिने’ धम्की दिएको भन्दै यो कार्यको चर्को आलोचना भएको छ । पूर्वमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत घटनाप्रति घोर भर्त्सना गर्दै शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् ।
‘काम गर्ने कर्मचारीलाई ‘किसान श्रेष्ठको घर फेरि जलाउँछु’ भन्दै तेरो नेतालाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाप्रति श्रेष्ठले सामाजिक सञ्जालमार्फत् भर्त्सना गरेका छन् । स्मरण रहोस्, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री श्रेष्ठको घर र ४ वटा सवारी साधनमा तोडफोड तथा आगजनी भएको थियो ।
आगलागी भएको घरको पुनर्निर्माणमा खटिएका इन्जिनियर चिरन्जीवी झाले गुरुङको टोलीले आफूलाई सिधै धम्की दिएको दाबी गरेका छन् । ‘तपाईं किसान श्रेष्ठलाई सम्झाइदिनुस्, सिमराका जेनजीहरूलाई कसैले हातपात गर्यो भने घरमा मात्रै होइन, मान्छेलाई आगो लगाउन सक्छ’ गुरुङले भनेको भन्दै इन्जिनियर झाले सञ्चारकर्मीलाई जानकारी दिए । उनले टोलीले क्यामेरा बन्द गर्न लगाएको र ‘किसान श्रेष्ठको प्लटिङमा के के गर्नुपर्छ हामीलाई थाहा छ’ भन्दै गुण्डागर्दी शैली देखाएको बताए ।
श्रेष्ठको निवासमा रहेकी सहयोगी मीरा श्रेष्ठले भनिन्, ‘भदौ २४ गते घर मात्रै जल्यो, अब किसान श्रेष्ठलाई जलाउँछौँ भन्नुभयो । अब हामी पनि कति बेला के हुन्छ भनेर डरले यहाँ बस्न नसक्ने अवस्थामा छौँ ।’
प्रशासनको टिप्पणीः गुण्डागर्दी शैली
कुनै पनि व्यक्ति वा समूहले स्थानीय प्रशासनको पूर्व जानकारी वा अनुमतिबिनै कसैको निजी घर वा सम्पत्तिमा प्रवेश गर्न नमिल्ने कानुनी तथा व्यावहारिक व्यवस्था छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले गुरुङको कार्यलाई ‘गुण्डागर्दी शैली’को संज्ञा दिएका छन् । उनले जेनजीहरू पूर्वमन्त्रीको घरमा जाँदैछन् भनेर स्थानीय प्रशासनलाई कुनै जानकारी नभएको स्पष्ट पारे । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि यस विषयमा औपचारिक जानकारी नभएको बताएका छन् ।
यता, टोलीको नेतृत्व गरेका जेनजी मधेश प्रदेशका संयोजक शिव यादवले भने आफूहरू धम्काउने उद्देश्यले नभई चिया खान र सामान्य भेटघाट गर्न गएको तर्क गरेका छन् । जेनजी युवा र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि अशान्त बनेको सिमराको अवस्था बुझ्न गुरुङको टोली बिहीबार त्यसतर्फ पुगेको थियो ।

























