
उदयपुर । उदयपुरको त्रियुगा बसपार्क निर्माणको काम चार वर्षदेखि अलपत्र परेको छ । कोशी प्रदेशकै नमुना बसपार्क बनाउने गरी २०७६ सालमा सुरु भएको १३ करोड रुपैयाँ लागतको आयोजना अधुरो छाडेर ठेकेदार कम्पनी ‘बेपत्ता’ भएको छ ।
त्रियुगा नगरपालिका–१२ गाईघाटस्थित त्रियुगा नदीको उत्तरी किनारमा अत्याधुनिक बसपार्क बनाउने लक्ष्य थियो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै २०७८ पुसभित्र काम सक्ने गरी रमण आईएस एमडी जेभीले ठेक्का पाएको थियो ।
ठेकेदार कम्पनी रमण आईएस एसबी बिल्डर्स जनकपुरले काम नगरेपछि दैनिक रूपमा ठेक्का रकमको ०.५ प्रतिशतका दरले जरिवाना भइरहेको आयोजना प्रमुख सुरेन्द्रकुमार साहले बताए । कम्पनीलाई अहिलेसम्म ६ पटकसम्म म्याद थप गरिसकिएको छ, तर काम पूरा भएको छैन । बसपार्क नबन्दा गाईघाट बजारमा अहिले पनि सडक छेउ र त्रियुगा नदीको बगरमा बस पार्किङ गर्नुपर्ने बाध्यता छ।

























