
विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि आज (आइतबार) बिहान विराटनगर विमानस्थलमा दुर्व्यवहारको प्रयास भएको छ । नेता बस्नेतलाई रातो रङ भरिएको बेलुनको लोला हानेर दुर्व्यवहार गर्न खोज्ने २ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–२ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम पक्राउ परेका हुन् । उनीहरुलाई वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो । त्यस क्रममा दुवै युवाले बस्नेतविरुद्ध नाराबाजी गरेका थिए ।
बस्नेत इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत बिहान करिब १० बजेर ५० मिनेटमा विराटनगर आइपुगेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा दुर्व्यवहारको प्रयास भए पनि अवस्था तत्कालै सामान्य पारिएको थियो ।
घटनापछि बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागिसकेका छन् । मोरङ प्रहरी स्रोतका अनुसार विमानस्थल र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

























