
विराटनगर । विराटनगर विमानस्थलबाट बाहिरिने क्रममामा नेकपा (एमाले) नेता महेश बस्नेतमाथि बेलुनभित्र मसी हालेर प्रहार गर्ने दुई जना युवा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध रहेको खुलेको छ ।
बस्नेतमाथि आइतबार बिहान दुर्व्यवहारको प्रयास भएपछि उनीहरूलाई प्रहरीले तत्काल पक्राउ गरी नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामध्ये २५ वर्षीय संयोग गौतम नेविसंघ महेन्द्र मोरङ क्याम्पसका इकाई सभापति र नेपाली कांग्रेस विराटनगर नगर सदस्य हुन् ।
यस्तै, १९ वर्षीय अर्पित कुँवर पनि नेविसंघकै विद्यार्थी नेता हुन्। उनी भदौ २३ र २४ गतेको ुजेनजीु युवा अभियानमा समेत सक्रिय थिए । उनी पार्टीको भ्रातृ संगठनमा आबद्ध रहेको सार्वजनिक भएपछि उनी सरकारसँगको वार्ता टोलीमा सहभागी हुन पाएका थिएनन् ।
नेता बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकाल इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौँबाट बिहान विराटनगर आइपुगेका थिए । उनीहरू आउने खबरसँगै सुरक्षा अवस्था कडा बनाइए पनि विमानस्थलको गेट बाहिर रहेका युवाहरूले मसी भरिएको बेलुन प्रहार गरेका थिए ।
युवाहरूले प्रहार गरेको बेलुन बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा लागेको थियो। प्रहरीले दुवैलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
एमाले नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दुर्व्यवहार प्रयास, २ जना पक्राउ

























