
इलाम । गत असोज १८ र १९ गते आएको भीषण बाढी र पहिरोका कारण इलाम जिल्लाका धेरै खानेपानी मुहान र आयोजनामा ठूलो क्षति पुगेपछि हजारौँ स्थानीय बासिन्दा खानेपानीको चरम समस्यामा परेका छन् ।
बाढी र पहिरोमा घर पूर्ण क्षति बेहोरेका परिवारहरू अहिले सहज र स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका लगायत विपद् प्रभावित सबैजसो पालिकामा खानेपानीका मुहान र आयोजनाहरूमा क्षति पुगेको छ ।
सबैभन्दा धेरै सन्दकपुरका स्थानीय समस्यामा
पहिरोका कारण अहिले सबैभन्दा बढी समस्या सन्दकपुर गाउँपालिका–४, माबुका बासिन्दाहरूले झेलिरहेका छन्। वडाध्यक्ष डिबी गुरुङका अनुसार, “यो वडाका आठ मुहानमा पूर्ण क्षति भयो, अढाई सय परिवार खानेपानीको समस्यामा छन्।” उनले टुक्रा पाइप जोडेर कतिपय उपभोक्ताकहाँ पानी पुर्याइएको भए पनि धेरैले मुहान र खोल्साबाटै गाग्रीमा पानी बोकेर प्रयोग गर्नुपरेको बताएका छन्। स्वच्छ खानेपानीका लागि वडाले ‘प्युस’ जस्ता औषधि वितरण गरिरहेको छ।
वडाध्यक्ष गुरुङका अनुसार, समस्या समाधानका लागि २१ हजार मिटर पाइप आवश्यक छ र सो माग माथिल्लो निकायमा गरिएको भए पनि आपूर्ति नहुँदा समस्या उस्तै छ।
अन्य पालिकाहरूको अवस्था
माइजोगमाई गाउँपालिका: तत्काल ६२ घर-परिवार खानेपानीको समस्यामा छन्। गाउँपालिका अध्यक्ष कुशबहादुर थेबले धेरै मुहानमा क्षति पुगेको र ४० घर पूर्ण क्षति भएका परिवारले अस्थायी रूपमा खानेपानी प्रयोग गरिरहेको बताए। पालिकाले पाइप खरिदका लागि बजेट नछुट्याएकाले माथिल्लो तहमै माग पठाएको गाउँपालिकाका शाखा अधिकृत गोकुल सञ्जेलले जनाएका छन्।
सूर्योदय नगरपालिका: नगर क्षेत्रमा सञ्चालित खानेपानी आयोजनामा क्षति पुग्दा लाखौँ रुपैयाँको नोक्सानी भएको छ। अस्थायी रूपमा आपूर्ति सुरु गरिए पनि दीर्घकालीन मर्मत कार्य बाँकी रहेको नगरपालिकाले जनाएको छ।
इलाम नगरपालिका: सन्दकपुर गाउँपालिकाको गिताङ र भाँडीखोला मुहानबाट ल्याइएको पाइपलाइनमा क्षति पुगेको र मर्मतका लागि ठूलो रकम लाग्ने नगरपालिकाले बताएको छ।
पुनर्निर्माणमा २८ करोड ३० लाखको आँकलन
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार, असोज १८ र १९ को बाढी–पहिरोका कारण जिल्लामा सञ्चालित खानेपानीका २९ आयोजनामा क्षति पुगेको छ। इलामका सबै आयोजनाहरूको अहिलेसम्म प्राप्त क्षति मूल्याङ्कन गर्दा करिब २८ करोड ३० लाख रुपैयाँ बराबरको पुनर्निर्माण आवश्यक रहेको समितिको आँकलन छ।
विपद्का कारण जिल्लामा ३ सय ३८ घर पूर्ण क्षति भएका छन् भने ८ सय २८ घरमा आंशिक क्षति भएको छ। ४ सय ४९ परिवार विस्थापित भएका मध्ये ११ परिवार सामुदायिक भवनमा बसिरहेका छन् भने बाँकी आफन्त र छिमेकीकहाँ आश्रय लिइरहेका छन्।

























