
विराटनगर । पतन्जली योग समिति, विराटनगर महानगर महिला समितिकी अध्यक्ष कुमारी तामाङले महानगरलाई योगमय बनाउने आफ्नो अभियानलाई थप सशक्तताका साथ अगाडि बढाएकी छन् । निवर्तमान अध्यक्ष शिल्पा प्याकुरेलको कार्यकालमा उपाध्यक्षको रूपमा काम गरेकी तामाङले आफ्नो नेतृत्वमा हालसम्म ५ वटा योग तालिम सफलतापूर्वक सम्पन्न गरिसकेकी छन् ।
सोही अभियानलाई निरन्तरता दिँदै आइतबार विराटनगर–५ स्थित राम मन्दिर योग साधना केन्द्रमा अर्को योग प्रशिक्षण कार्यक्रमको औपचारिक रूपमा थालनी भएको छ । अध्यक्ष तामाङका अनुसार अब महानगरभित्र गरिने योग सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू पतन्जली योग समिति विराटनगर महानगरसँग सहकार्य गरेर मात्र अगाडि बढ्नेछन् ।
उनले भनिन्, ‘योगको मूल मर्म भनेकै सबैलाई जोड्नु हो।’ त्यसैले यस अभियानमा लागि परेर विशिष्ट मर्यादामा पुगिसकेकाहरूलाई पनि मूल प्रवाहमा समेट्न आफू सधैँ सकारात्मक रहेको उनले बताइन् ।
आइतबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै विराटनगर वडा नं. ५ का अध्यक्ष सन्तोष न्यौपानेले योग र ध्यान घरघरमा आवश्यक भएको बताउँदै यस अभियानका लागि वडाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘योग तन्त्र’ को आवश्यकता
कार्यक्रममा पतन्जली योग समिति, विराटनगर महानगरका अध्यक्ष माधव अधिकारीले वर्तमान अवस्थामा देशको लोकतन्त्रमा गडबडी आएकाले आचार्य बालकृष्णको भनाइ उद्धृत गर्दै ‘योग तन्त्र’ आवश्यक रहेको बताए । उनले ऋषि परम्परा, आहार, व्यवहार र आचारमा सुधार नभए देश बर्बाद हुने चेतावनी पनि दिएका थिए ।
यस अवसरमा महिला जिल्ला अध्यक्ष सूची चौधरीले योगको आवश्यकतामाथि जोड दिएकी थिइन् भने जिल्ला उपाध्यक्ष दामोदर पोखरेल, निवर्तमान जिल्ला महिला अध्यक्ष लच्मी चौधरी, र सेन्टर संयोजक यसोदा पराजुली लगायतले प्रशिक्षण कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।























