सांकेतिक तस्बिरझापा । झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको सिमानामा पर्ने रामचन्द्रे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह-६ आरतीनगर बस्ने अन्दाजी ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको हो ।
ताजपुरियाले आफ्नो घरबाट करिब २०० मिटर उत्तर पश्चिममा रहेको रामचन्द्रे खोलामा घरको २२० भोल्ट लाइनको तार जोडेर माछा मार्ने प्रयास गरेका थिए । सोही क्रममा तार सर्ट भई उनलाई करेन्ट लागेको थियो र उनी पानीमा मृत अवस्थामा फेला परेका थिए । उनको शव उनकी श्रीमती फुल कुमारी ताजपुरियाले फेला पारेकी थिइन् ।
घटनापछि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटिई घटनास्थल पुगेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाएको थियो । पोष्टमार्टम पश्चात मृतकको शव उनका छोरा मनोजकुमार ताजपुरियाले बुझिलगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।























