जेनजी आन्दोलनको उपद्रवः सर्वोच्च र अख्तियारसहित १०४ जाहेरी प्रहरीमा दर्ता

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ८, सोमबार १६:२५

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र विभिन्न खालका अपराधिक उपद्रवसँग सम्बन्धित १०४ वटा जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएका छन् । सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता देशका महत्त्वपूर्ण संवैधानिक निकायहरू समेत प्रभावित हुने गरी जाहेरी परेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंले यससम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो । दर्ता भएका कुल १०४ जाहेरीमध्ये सरकारी कार्यालयहरू र प्रहरी प्रतिवेदनसँग सम्बन्धित जाहेरीको संख्या ६६ वटा रहेको छ ।

त्यसैगरी, व्यक्तिगत रूपमा क्षतिपूर्ति माग गर्दै २२ वटा जाहेरी परेका छन् भने विभिन्न संस्थागत पक्षहरूबाट १६ वटा जाहेरी दर्ता भएका छन् ।

प्रहरीमा यति ठूलो संख्यामा जाहेरी पर्नुले आन्दोलनको आडमा भएको अराजकता र क्षतिको गम्भीरतालाई दर्शाउँछ । प्रहरीले तोडफोड तथा आगजनीमा संलग्नहरूलाई पक्राउ गर्ने र घटनाबारे अनुसन्धान गर्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाएको जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र आपराधिक उपद्रवसँग सम्बन्धित जाहेरीहरू अनुसन्धानको चरणमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा १०४ वटा जाहेरी दर्ता भए पनि अनुसन्धानको दायरा उपत्यका बाहिर पनि विस्तार भएको छ।

यसैबीच, जेनजी आन्दोलनको आडमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा देशभरबाट हालसम्म ४ सय २९ जना पक्राउ परेका छन् । विभिन्न जिल्लामा उच्छृङ्खल गतिविधि गर्ने ३ सय ३५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।

विभिन्न २० जिल्लामा १ सय २९ वटा कसुर दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । घटनापछि हराएका वा लुटिएका सुरक्षाकर्मीका हतियारमध्ये ७ सय १८ थान पुनः नियन्त्रणमा ल्याइएको छ । बाँकी हतियारको खोजी कार्यका लागि सुरक्षा निकायहरूले संयुक्त अपरेसन सञ्चालन गरेका छन् ।

आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूको खोजी कार्य पनि जारी छ । भागेका मध्ये थुप्रै कैदीबन्दीहरू काठमाडौं र झापा लगायतका जिल्लाबाट पुनः पक्राउ परिसकेका छन् ।

सरकारले घटनाको विषयमा छानबिन गर्न एक जाँचबुझ आयोग गठन गरेको छ । आयोगले कुनै आग्रह वा पूर्वाग्रह नराखी अनुसन्धान गर्ने र प्रतिवेदन तयार गर्ने आश्वासन दिएको छ । आयोगले जेनजी आन्दोलन र त्यसको आडमा भएको आपराधिक कार्यलाई छुट्याउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.