सुमनराज अर्याल मुख्यसचिव नियुक्त, ८ महिनामै अवकाश हुने

Share this
816shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ८, सोमबार २०:३०

काठमाडौं । वरियताक्रम अनुसार दोस्रो स्थानमा रहेका रक्षासचिव सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई देशको २९ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय लिएको हो ।

वरियतामा पहिलो स्थानमा रहेका राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी तथा वर्तमान मुख्यसचिव एकनारायण अर्याल दुवै मंगलबार रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि पद रिक्त हुँदै गर्दा क्रमै अनुसार दोस्रो नम्बरका सचिव अर्यालले मुख्यसचिव बन्ने अवसर पाएका हुन् । निजामती सेवा ऐन, २०४९ को दफा ७५ (२) (क) मा ‘बहालवाला सचिवहरूमध्ये ज्येष्ठता र कार्यकुशलताको आधारमा मुख्यसचिव चयन गरिने’ व्यवस्था छ ।

यही प्रावधानअनुसार ज्येष्ठता मापदण्डलाई आधार मानेर सरकारले निर्णय गरेको छ । मुख्यसचिवमा नियुक्त भए पनि अर्यालको कार्यकाल भने लामो छैन । प्रशासन सेवाको तथ्यांक समूहबाट आएका उनले ५८ वर्षे उमेरहद पूरा गर्दै २०८३ असार २६ गते अनिवार्य अवकाश पाउने भएकाले करिब ८ महिना मात्रै मुख्यसचिवको नेतृत्व सम्हाल्ने छन् ।

अर्याल २०५३ सालमा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृतको रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए । पछिल्लो करियर प्रगति हेर्दा, उनले २०६६ मा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा बढुवा पाएका थिए भने १ वर्षपछि अर्थात् २०६८ सालमा सहसचिवमा खुला प्रतिस्पर्धामार्फत नाम निकाल्न सफल भएका थिए ।

२०७७ माघ १९ मा सचिवमा पदोन्नति पाएपछि अर्यालले संघीय तथा प्रदेश दुवै तहका महत्वपूर्ण जिम्मेवारी सम्हाले । उनले कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगमा सचिवका रूपमा काम गरिसकेका छन् ।

उनको अवकाशसँगै वरियतामा तेस्रो स्थानमा रहेकी प्रमिलादेवी बज्राचार्य शाक्य, चौथो स्थानका मधुसुदन बुर्लाकोटी र पाँचौ स्थानका कृष्णहरि पुष्कर पनि २०८३ असार २६ कै दिन अनिवार्य अवकाशमा जाने छन् । यस कारण त्यही दिनपछि मुख्यसचिवको दावेदारीमा ६ जना सचिवमाझ प्रतिस्पर्धा रहने देखिन्छ । गृहसचिव रामेश्वर दंगाल, लोकसेवा आयोगका सचिव किरणराज शर्मा तथा सचिवहरू हरि मैनाली, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ र रविलाल पन्थ आगामी दाबेदार हुन् ।

सबै जना एकैदिन सचिवमा बढुवा भएका अधिकारी हुन्, जसका कारण उनीहरू समान अवसरका दाबेदार मानिन्छन् । अर्यालले केही महिनाको सीमित अवधिका लागि मात्रै संघीय प्रशासकीय संयन्त्रको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । आगामी महिनाहरूमा समग्र सरकारी संयन्त्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु, पदाधिकारीहरूबीच समन्वय मजबुत बनाउनु र संक्रमणकालीन प्रशासनिक लक्ष्यहरू समयमै पूरा गर्नु उनको प्रमुख दायित्व रहनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.