
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
इलाका प्रशासन कार्यालय गौरीगञ्ज र जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन कर्मचारीहरूले सेवाग्राहीको नागरिकतामा उल्लेखित जन्ममितिभन्दा फरक मिति राखी राहदानी जारी गराएको र सो बापत गैरकानुनी लाभ लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
अनुसन्धान अनुसार कर्मचारीहरूको मिलेमतोमा राहदानी वाहकहरूको उमेर १ देखि ८ वर्षसम्म घटाउने वा बढाउने कार्य भएको पाइएको छ ।
आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन कार्यालय प्रमुख चुडामणी आपगाईँ, नायब सुब्बा रविन कुमार राजवंशीसहित ६ जना सरकारी कर्मचारी र गलत विवरण पेस गरी लाभ लिने राहदानी वाहक विनोद कुँवरसहित ४ जनाविरुद्ध मतियारको रूपमा मुद्दा दायर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गरेको छ ।

























