
धनगढी । नेकपा (एमाले) का नेता तथा पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलालीको धनगढी आइपुग्दा विरोध प्रदर्शनमा उत्रिएका जेनजी समूहका युवा र युवा संघका कार्यकर्ताबीच झडप भएको छ।
युवा संघको सुदूरपश्चिमस्तरीय भेलामा सहभागी हुन बुधबार धनगढी आइपुगेका बस्नेतको विरोध गर्दै करिब २० जनाको सङ्ख्यामा जेनजी युवाहरू धनगढी विमानस्थलमा भेला भई प्रदर्शन गरेका थिए।
जेनजी समूहका युवाहरूले ‘गुण्डुकाे गुण्डा गाे ब्याक’, ‘जेनजीकाे रगतमाथि खेलवाड गर्न पाइँदैन’ जस्ता नारा लेखिएका प्ले कार्डसहित सडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा युवा संघका कार्यक्रताहरू आएर उनीहरूमाथि हातपातको प्रयास गरेका थिए। प्रहरी घेराभित्र प्रदर्शन गरिरहेका जेनजी युवाहरूमाथि आक्रमण प्रयास भएपछि उनीहरू भागेका थिए। भाग्ने क्रममा जेनजी समूहकी सरिता जाेशीको हात भाँचिएको छ। उनको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको छ।
बस्नेतको सुरक्षा र जेनजीको विरोध प्रदर्शनलाई ध्यानमा राखी सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनलाई एमालेका अध्यक्ष केपी शर्मा ओली, महेश बस्नेत लगायतका नेताहरूले सामान्यीकरण गर्न खोजेपछि उनीहरूमाथि जेनजी समूहका युवाहरूले देशव्यापी रूपमा विरोध प्रदर्शन गर्दै आएका छन्।
यसअघि पनि नेता बस्नेत सुर्खेत र विराटनगर जाँदा जेनजी समूहले विरोध प्रदर्शन गरेका थिए। बस्नेतलाई भने प्रहरी सुरक्षाका साथ कार्यक्रम स्थलसम्म लगिएको छ।

























