फाइल फोटो ।विराटनगर । सुनसरीको धरानमा शुक्रबार बिहानका राति ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ तीनकुनेमा बिहानका राति १ः३० बजेतिर दुर्घटना भएको हो । सडकमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षिय मञ्जिल लिम्बू र पछाडि सवार इटहरी–५ का ३२ वर्षीय अमित राई गम्भीर घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।
उपचारका क्रममा मोटरसाइकल चालक लिम्बूलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते अवस्थाका राईको उपचार जारी छ ।
दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, ट्रक र ट्रक चालक तेह्रथुमको फेदाप गाउँपालिका–२ का २७ वर्षीय गणेश भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























