धमाधम ज्यान गुमाउँदै मोरङ कारागारका कैदीबन्दी : एकै दिन २ जनाको मृत्यु

Share this
801shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ मंसिर १२, शुक्रबार १६:११

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा राखिएका कैदीबन्दी तथा थुनुवाले धमाधम ज्यान गुमाइरहेका छन् ।

विभिन्न मुद्दामा दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दी तथा पुर्पक्षका लागि कारागार चलान गरिएका थुनुवाको मृत्यु हुने क्रम बढ्दै गइरहेको हो । धमाधम मृत्यु भइरहँदा पनि त्यसको कारण पत्ता लगाएर कैदीबन्दी र थुनुवाको उचित व्यवस्थापनमा राज्यले ध्यान दिन सकिरहेको छैन ।

मोरङ कारागारका २ जना कैदीको बिहीबार मात्रै मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार एकै दिन २ जनाको मृत्यु भएको हो । मृतक दुवै जना अलगअलग मुद्दामा अदालतले दोषी ठहर गरेर कैद सजायको फैसला सुनाएका कैदी हुन् ।

मोरङको बेलबारी नगरपालिका–३ घर भएका ४७ वर्षीय तेजबहादुर राईको बिहीबार राति ११ः२० बजेतिर मृत्यु भयो । जंगली हात्ती मारेको आरोपमा उनलाई प्रहरीले गत साउन २० गते पक्राउ गरेको थियो ।

अदालतले राईलाई कारागार चलान गरेर मुद्दाको पुर्पक्ष गर्न भदौ १८ गते आदेश दियो । आदेशपछि कारागार चलान गरिएका राईलाई पछि अदालतले जंगली हात्ती मारेको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

अदालतले दोषी ठहर गरेपछि सजाय भुक्तान गरिरहेका बेला अचानक बिरामी परेपछि मंसिर १० गते बुधबार उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरियो । उपचारकै क्रममा ज्यान गुमाएका राईलाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको कारागारका जेलर गौरव ढुंगेलले बताए ।

अदालतको फैसला अनुसार राईले २०८६ साल साउन २९ गते सजाय भुक्तान गरिसक्ने थिए । तर, सजाय भुक्तानको साढे ४ वर्ष बढी अवधि बाँकी रहँदै उनको मृत्यु भएको हो ।

त्यस्तै, १ महिनाभन्दा अघिदेखि उपचाररत कर्तव्य ज्यान मुद्दाका कैदी मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ६६ वर्षीय हर्कजंग लिम्बूको बिहीबार बिहान ४ः२० बजेतिर मृत्यु भयो । अचानक शरीर सुन्निने र छाती दुख्ने समस्या देखिएपछि लिम्बूलाई कात्तिक ४ गते उपचारका लागि विराटनगरकै कोशी अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा लिम्बूको मृत्यु भएको जेलर ढुंगेलले बताए । उनका अनुसार २०८० साल साउन २८ गतेदेखि कारागारमा राखिएका लिम्बूलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

वैशाखयता १३ जनाको मृत्यु

मोरङ कारागारमा रहेका कैदीबन्दी र थुनुवामध्ये गत वैशाखयता मात्रै १ जना महिलासहित १३ जनाको मृत्यु भइसकेको छ । कैदीबन्दी र थुनुवाले निरन्तर ज्यान गुमाइरहँदा पनि त्यसको कारण पत्ता लगाएर उनीहरुको उचित व्यवस्थापन गर्नेतर्फ राज्य उदासिन देखिएको छ ।

वैशाखयता मृत्यु भएकामध्ये ५ जना थुनुवा र ८ जना कैदीबन्दी छन् । १ जनाबाहेक अधिकांशको मृत्यु उपचारका क्रममा अस्पतालमा भएको हो । महिलालाई भने कारागारभित्रको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला पारिएको थियो ।

मृतकमध्ये सबैभन्दा धेरै लागुऔषध र कर्तव्य ज्यान मुद्दाका कैदी छन् । जेलर ढुंगेलका अनुसार हाडनाता करणी, ठगी, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार र हात्ती मारेको कसुरसँग सम्बन्धित मुद्दाका १–१ जनाको मृत्यु भएको छ । जबरजस्ती करणीका २ र कर्तव्य ज्यान तथा लागुऔषध मुद्दाका ३–३ जनाको मृत्यु भएको उनले बताए ।

मंसिरको दोस्रो साता नहुँदै ३ जनाको मृत्यु भइसकेको छ । असारमा पनि ३ जनाले ज्यान गुमाएका थिए । गत वैशाख १५ गते हाडनाता जबरजस्ती करणी मुद्दाका कैदी मित्रकुमार दनुवार र वैशाख २१ गते ठगी मुद्दाका थुनुवा प्रवीण तामाङको मृत्यु भएको थियो ।

त्यस्तै, लागुऔषध मुद्दाका कैदी उमेश दर्जीको असार १० गते र ज्यान मार्ने उद्योग मुद्दाका कैदी सञ्जय तामाङको भोलिपल्ट अर्थात् असार ११ गते मृत्यु भयो । जबरजस्ती करणी मुद्दाका थुनुवा सन्तोष पाल भनिने सन्तोषकुमार प्रसादको असार २५ गते, कर्तव्य ज्यान मुद्दाकी कैदी राधिका भनिने राधा भट्टराईको भदौ ११ गते, लागुऔषध मुद्दाका थुनुवा काजीमान सार्कीको असोज २५ र लागुऔषधकै अर्का थुनुवा गोपाल सापकोटा भनिने जितप्रसाद सापकोटाको कात्तिक ७ गते मृत्यु भएको कारागारले जनाएको छ ।

त्यस्तै, जबरजस्ती करणी मुद्दाका कैदी मुस्कान दनुवारको कात्तिक १३ गते, कर्तव्य ज्यान मुद्दाका कैदी गंगा भनिने ज्ञानबहादुर राईको कात्तिक २३ गते र अभद्र व्यवहार मुद्दाका थुनुवा गंगाबहादुर लिम्बूको मंसिर ३ गते मृत्यु भएको थियो । मंसिर ११ गते अर्थात् बिहीबार हात्ती मारेको कसुरका कैदी तेजबहादुर राई र कर्तव्य ज्यान मुद्दाका कैदी हर्कजंग लिम्बूको मृत्यु भएको हो ।

मृतकमध्ये राधिका भनिने राधा भट्टराई महिला कारागारको शौचालनमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । अरु सबैको मृत्यु उपचारका क्रममा अस्पतालमा भएको कारागारले जनाएको छ ।

पोस्टमार्ट नै हुँदैन

मोरङ कारागारका कैदीबन्दी तथा थुनुवाको मृत्यु दर भयावह बने पनि मृत्युको कारण पत्ता लगाउने प्रयास भएको छैन । मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम हुनुपर्छ । तर, वैशाखयता मृत्यु भएका कसैको पनि पोस्टमार्टम भएन ।

आफन्त एवं परिवारका सदस्यले नै पोस्टमार्टम गर्न नमान्ने गरेको कारागार स्रोतले बतायो । ‘कैदीबन्दी तथा थुनुवाको मृत्यु भएपछि पोस्टमार्टम गर्न हामीले बारम्बार आग्रह गर्छौं । तर, आफन्त र परिवारका सदस्यले पोस्टमार्टम नै गर्न दिँदैनन् । पोस्टमार्टमको प्रयास गर्दा अवरोध गर्छन् । त्यही भएकाले हामी त्यत्तिकै शव बुझाउन बाध्य हुन्छौं,’ कारागारका १ कर्मचारीले भने ।

कैदीबन्दी र थुनुवाको मृत्यु हुँदा पोस्टमार्टम गर्नैपर्ने कानुनी व्यवस्था छ । तर, मृतकका आफन्त र परिवारका सदस्य बाधक बनिदिँदा पोस्टमार्टम नहुने गरेको कारागारका कर्मचारी बताउँछन् ।

‘प्रायः मृतक सबैमा श्वासप्रश्वासमा गाह्रो हुने, शरीर सुन्निने र छाती दुख्ने समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिनसाथ उपचारका लागि अस्पताल पुर्याउँछौं । तर, उपचाररत अवस्थामै मृत्यु हुने गरेको छ,’ ती कर्मचारीले भने, ‘मृत्युपछि पोस्टमार्टमको प्रक्रिया पूरा गर्न खोज्दा आफन्त र परिवारका सदस्यले मान्दैनन् । त्यत्तिकै शव बुझेर लैजान्छन् । जसका कारण मृत्युको कारण पत्ता लगाउन समस्या भइरहेको छ ।’ कारण पत्ता लगाउन नसक्दा कारागारका कैदीबन्दीको सुरक्षा र व्यवस्थापनमा समस्या भइरहेको उनले बताए ।

जेलर ढुंगेल भने कैदीबन्दी तथा थुनुवाको सुरक्षा, उपचार र आधारभूत आवश्यकता पूरा गर्ने सवालमा कारागार प्रशासन गम्भीर रहेको बताउँछन् । कुनै कैदीबन्दी तथा थुनुवा बिरामी परेमा तत्काल उपचारका लागि अस्पताल लैजाने गरिएको र कतिपयलाई बचाउन नसकिएको उनको भनाइ छ ।

मोरङ कारागारमा हाल १ हजार १ सय ९६ जना कैदीबन्दी छन् । तीमध्ये २ जना आश्रित बालबालिका, १ सय ११ जना महिला र १ हजार ८३ जना पुरुष रहेको कारागारले जनाएको छ ।

राज्यले ध्यान दिएन

कैदीबन्दीको मृत्यु हुने घटना निरन्तर बढ्न थालेपछि सरोकारवालाले चासो र चिन्ता व्यक्त गरेका छन् । सरकारले उचित हिसाबले ध्यान दिन नसक्दा राज्यको नियन्त्रणमा रहेका कैदीबन्दीले अकालमा ज्यान गुमाउनु परिरहेको उनीहरुको भनाइ छ ।

अधिवक्ता कोषराज न्यौपाने व्यक्तिले कुनै कसुर गरेमा कानुन अनुसार कारबाही गर्दा वा थुनामा राख्दा उसको बाँच्न पाउने अधिकारको रक्षा गर्ने जिम्मा राज्यको हुने बताउँछन् । ‘पछिल्लो समय कारागारमा रहेका कैदीबन्दी र थुनुवाको मृत्यु धेरै भइरहेको छ । त्यसको कारण पत्ता लगाएर उचित व्यवस्थापन गर्नेतर्फ राज्यले ध्यान दिन सकेको छैन,’ उनले भने, ‘कसुर गरेको व्यक्तिको बाँच्न पाउने अधिकार पनि अरु व्यक्तिसरह हुन्छ । तर, राज्यले प्रभावकारी हिसाबबाट व्यवस्थापन गर्न नसक्दा कैदीबन्दीले अकालमा ज्यान गुमाइरहेका छन् ।’

अधिवक्ता न्यौपानेका अनुसार धमाधम कैदीबन्दीको मृत्यु भइरहँदा पनि कुनै कदम चाल्न नसक्नु राज्यको लापरबाही हो । उनले उचित बसोबास, खानपान र स्वास्थ्योपचारको अभावमा कैदीबन्दी एवं थुनुवाले अकालमा ज्यान गुमाइरहेको बताए ।

‘कारागारमा कैदीबन्दी र थुनुवालाई बस्ने ठाउँको उचित व्यवस्था छैन । ठाउँ अभावमा कोचिएर बस्नुपर्ने बाध्यता छ । खानपानको समस्या छ । बिरामी हुँदा समयमा उपचार पाउँदैनन्,’ अधिवक्ता न्यौपाने भन्छन् । राज्यको गम्भीर लापरबाहीका कारण कैदीबन्दीको मृत्यु धेरै हुनु दुःखद् भएको उनले बताए ।

अकाल मृत्यु रोक्न र कैदीबन्दी तथा थुनुवाको उचित व्यवस्थापनका लागि कारागार प्रशासन, स्थानीय प्रशासन, मानव अधिकार आयोगलगायतका निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘कैदीबन्दीलाई न्यूनतम आधारभूत सेवा सुविधाबाट नै वञ्चित गरिएको हुन्छ । उनीहरु अनेक पीडा र समस्यामा हुन्छन् । समस्यालाई बेलैमा समाधान गर्नेतर्फ राज्य लाग्नुपर्छ,’ न्यौपानेले भने ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पछिल्लो समय कैदीबन्दी र थुनुवाको मृत्यु हुने क्रम बढेको बताए । ‘मृत्यु हुने क्रम बढेपछि हामीले निक्कै चासो दिइरहेका छौं । कतिपय दीर्घ रोगीहरु पनि छन् । उनीहरुसहित सबै कैदीबन्दीको उपचारदेखि बसोबास, खानपानलगायतका सबै कुरा हेरिरहेका छौं,’ उनले भने ।

कैदीबन्दी बिरामी धेरै हुने गरेकाले कारागारभित्र नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको तयारी भइरहेको उनले बताए । ‘यस विषयमा कारागार व्यवस्थापन विभागलाई समेत जानकारी गराइसकेका छौं । कारागारभित्रको समस्या पत्ता लगाएर समाधान एवं सुधारको प्रयत्न भइरहेको छ । अहिले हामी कैदीबन्दीको अकाल मृत्यु रोक्नलाई विभिन्न उपायको खोजीमा छौं,’ प्रजिअ कट्टेल भन्छन्, ‘सुरुमा हामी कैदीबन्दी तथा थुनुवाको मृत्युको कारण पहिल्याउँछौं । केही कैदीबन्दीलाई स्थानान्तरणसमेत गरिएको छ । जतिसक्दो चाँडो समस्या समाधान गरेर ‘करेक्सन’ गर्ने योजना छ ।’

मानव अधिकार आयोगको अनुगमन

कैदीबन्दी तथा थुनुवाको मृत्यु हुने क्रम बढेपछि शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगको टोलीले मोरङ कारागारको स्थलगत अनुगमन गरेको छ । आयोगको कोशी प्रदेश कार्यालय विराटनगरबाट खटिएको मानव अधिकार अधिकृत तुलसा कार्की र चिरञ्जीवी कोइरालासहितको टोलीले कारागारको अनुगमन गरेको हो ।

आयोगको टोलीले कारागार प्रशासनसँग कैदीबन्दीको अवस्था, पछिल्लो समय मृत्यु हुने क्रम बढ्नुको कारणलगायत कारागार व्यवस्थापनको सबै पाटोका बारेमा जानकारी लिएको छ । साथै, आयोगले कारागारको सरसफाइ, शौचालय, भान्सा, चमेना गृह, भेटघाट कक्षलगायतको निरीक्षणसमेत गरेको छ ।

अनुगमनका क्रममा कारागारमा देखिएका समस्या र त्यहाँको अवस्थाका बारेमा उल्लेख गरेर प्रतिवेदन तयार पार्दै कारागारको उचित व्यवस्थापनका लागि सरकारलाई निर्देशन दिइने आयोग स्रोतले बतायो । मोरङ कारागारमा पुरुषलाई राख्ने २ वटा ‘ब्लक’ र महिलालाई राख्ने एउटा ‘ब्लक’ छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×