एनपीएलमा सट्टेबाजीको जालो: १० जना पक्राउ

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार १६:१०
फाइल तस्बिर

काठमाडौँ। काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सट्टेबाजी गराउने र खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव गरेको आरोपमा १० जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेकामध्ये ९ जना भारतीय नागरिक हुन् र उनीहरू सट्टेबाजी गराउनकै लागि भारतबाट आएको अनुसन्धानमा खुलेको छ।

१ करोडसम्मको प्रस्ताव

प्रतियोगितामा खेलाडीलाई प्रायोजन गर्ने बहानामा इन्स्टाग्राममार्फत सम्पर्क गरेर अनुचित प्रभाव पार्न खोजेको आरोपमा प्रहरीले यसअघि नै मंसिर ३ गते एक नेपाली र एक भारतीयलाई नियन्त्रणमा लिएको थियो। स्पट फिक्सिङका लागि खेलाडीलाई १ करोड रूपैयाँसम्मको प्रस्ताव गरेको देखिएपछि भारतको हरियाणाका दिलप्रित सिंह र नेपाली युवती रेविकासिंह ठकुरी लाई पक्राउ गरिएको थियो।

प्रत्येक बलमा सट्टेबाजी

त्यसैगरी, प्रत्येक बलको आधारमा ‘बेटिङ’ अर्थात् सट्टेबाजी चलाइरहेको आरोपमा थप ८ जना भारतीय नागरिक मंसिर ६ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटबाट पक्राउ परेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेश घर भइ काठमाडौं बस्दै आएका राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साईकुमार र सेख चन्द बसल छन्। उनीहरूले ‘स्टेक डटकम’ र ‘बेटबुक डटकम’ जस्ता वेबसाइटहरूमार्फत झन्डै २ करोड ५ लाख रूपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।

निगरानी र चुनौती

फिक्सिङका आधारमा निश्चित समूहले सट्टेबाजी लगाउने र परिणाम आफ्नो पक्षमा पारेर रकम असुल गर्ने गतिविधिमाथि प्रशासन र अन्तर्राष्ट्रिय क्रिकेटको नियमनकारी निकाय आईसीसीले निगरानी गर्ने गरेका छन्। नेपाल प्रहरीले अहिले पनि सट्टेबाजी लगाउनेहरूको निगरानी गरिरहेको छ।

यद्यपि, पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीले प्राविधिक अपराध अनुसन्धानमा सरकारले पर्याप्त लगानी गर्न नसकेको बताएका छन्। उनले ‘साइबर क्राइमको जसरी दायरा बढ्दै छ, त्यसलाई सम्बोधन गर्न सरकार चुकिरहेको छ’ भन्दै चुनौती औँल्याएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.